जेठ २४, हरिवन । सर्लाहीको हरिवनमा नवनिर्वाचित वडा सदस्यले विपन्न एक परिवारलाई घर निर्माण गरिदिएका छन् ।
आइतबार एक कार्यक्रमकाबीच हरिवन नगरपालिका–८, निवासी एक परिवारलाई उक्त घर हस्तान्तरण गरिएको हो । हरिवन नगरपालिका–८, निवासी मंगल सिंह दंगाली मगर परिवारलाई सोही वडाबाट निर्वाचित वडा सदस्य सोनी गुर्मछानले एक कोठाको पक्की घर बनाइदिएका हुन् ।
अत्यन्त विपन्न एवं आफन्त समेत कोही नरहेको उक्त परिवार बर्षौदेखी खपडाको छानो भएको झुपडिमा बस्दै आएका थिए । घर बनाउने हैसियत नभएका उनीहरु पक्की घर पाएपछि खुसी भएका छन् । गुर्मछानले ब्यक्तिगत २ लाख ५० हजार लागानीमा उक्त घर निर्माण गरिदिएको बताए । छिमेकी समेत रहेका दंगालीको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले आफुले केही गरौँ भन्ने उदेश्यले घर तयार गरिदिएको उनको भनाई छ ।
घर निर्माण भएको ५ धुर जग्गा भने दंगाली परिवारकै हो । उक्त घर हरिवन नगरपालिकाकी नवनिर्वाचित उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा हरिवन नगरपालिका–८, का नवनिर्वाचित वडाध्यक्ष प्रज्वल ढुंगाना र अन्य नवनिर्वाचित वडा सदस्य लगाएतको उपस्थिती रहेको थियो ।

