भारतका विश्वविद्यालहरुबाट स्वर्णपदक गरेका २७ नेपालीहरुलाई सम्मान

जेठ १५, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान नेपालले भारतीय शैक्षिक संस्थान÷ विश्वविद्यालयहरुबाट विभिन्न विषयमा स्वर्णपदक प्राप्त गरेका २७ नेपालीहरुलाई सम्मान गरेको छ ।

प्रतिष्ठान नेपालले शुक्रबार नेपाल–भारत मैत्री आनन्द पशुपति धर्मशालामा एक प्रतिभा सम्मान कार्यक्रमको आयोजना गरी स्वर्णपदक प्राप्त गरी नेपालको विभिन्न क्षेत्रमा सेवा गर्दै आउनुभएका ती व्यक्तित्वहरुलाई सम्मान गरेका हुन् । भारतका विश्वविद्यालयहरुबाट अध्ययन गरी स्वर्णपदक प्राप्त गरेका सम्मानित व्यक्तित्वहरुले नेपालका विभिन्न क्षेत्रमा लामो समयदेखि सेवा प्रदान गर्दै आउनुभएका छन् ।

सम्मानित व्यक्तित्वहरुलाई सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक आशावरी वापटबाट सम्मान प्रदान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भारतबाट उच्च शिक्षा हासिल गरी स्वर्णपदक प्राप्त गरेका व्यक्तिहरुलाई गरिएको सम्मानले समाजमा एउटा सकारात्मक सन्देश जाने बताउँदै नीति प्रतिष्ठान नेपालले गरेको कार्यलाई प्रशंसा गर्नुभयो । सुन्दर देश नेपाललाई प्रकृतिले यति धेरै सम्पदाहरू दिएको छ त्यसका लागि प्राप्त ज्ञान, सीपलाई व्यवहार र अवसरमा रूपान्तर गरेर चाँडो भन्दा चाँडो सम्पन्न मुलुकको रूपमा विकसित गर्नका निमित्त सम्मानित प्रतिभाहरूको धेरै ठुलो भूमिका रहनुपर्ने बताउनुभयो । मन्त्री कार्कीले नेपाल र भारतको सम्बन्ध सरकार बीचमा मात्र नभएर जनताहरू बीचमा रहेको बताउँदै एउटै सभ्यता, एउटै संस्कृति भएकोले हामीले हाम्रो देशलाई समृद्ध बनाउन भारतसँग सुमधुर सम्बन्ध स्थापित गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  शिक्षा आर्जन एउटा प्रमाणपत्र लिएर आफ्नो ठाउँमा काम गर्ने र जागिर खानेसँग मात्र सीमित नभएर यस्तो शिक्षाले देश विकासमा योगदान पुऱ्याउनु पर्ने बताउनुभयो । गभर्नर अधिकारीले भारतमा अध्ययन गरेर आउने विद्यार्थीहरुले नेपाल र भारतको सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण योगदान पुऱ्याउन सक्ने कुरा उल्लेख गर्नुभयो । “यो सम्मान कसैको चाहनाले नभई तपाईंहरूले विभिन्न विश्वविद्यालयबाट मेरिटमा पाएको डिग्रीलाई मूल्याङ्कन गरेर नेपालभित्र कहाँ हुनुहुन्छ, खोजीखोजी यहाँहरूलाई सम्मान गरिएको हो” भन्दै उहाँले सम्मानित सबै व्यक्तिलाई बधाई दिनुभयो। अन्य देशमा गएर पनि गोल्डमेडल प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै शुभकामन दिनुभयो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवि बज्राचार्यले कार्यक्रममा बोल्नुहुँदै प्रतिभाको खोजि सम्मान कार्यक्रमले नयाँ आउने पुस्ताहरूलाई उत्प्रेरणा मिल्नुका साथै विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको सकारात्मक सन्देश जाने बताउनुभएकी छिन् । त्यस्तै भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समाजका विशिष्ट व्यक्तित्वहरूलाई कार्यक्रममा उपस्थिति गराई एउटै मालामा उनेर जुन कार्यक्रम नीति अनुसन्धान प्रतिष्ठान, नेपालले आयोजना गरेको छ त्यो अत्यन्तै राम्रो गरेको र नयाँ पुस्तालाई प्रेरणा बनेको बताउनुभयो ।

कार्यक्रममा अतिथि स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक आशावरी वापटले नीति अनुसन्धान प्रतिष्ठान, नेपालले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । सम्मानित व्यक्तिहरु जसमा चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मा, जलस्रोत सिचाइ विभागका रवि शाक्य, नेपाल ल क्याम्पसका उत्साह भट्टराई, प्राध्यापक डिल्लीराम सङ्ग्रौला, नार्काका चेतन ज्ञावाली, नेपाल ट्रष्टका सुरेश कुमार वर्मा त्यसैगरी डाक्टर राम प्रसाद पोखरेल, डाक्टर पुनम नेपाल लगायत अन्य विविध क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रममा सभाध्यक्ष एवम् नीतिअनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा. दीपक कुमार अधिकारीले नीति अनुसन्धान प्रतिष्ठान नेपालले २०१७ मा पहिलो प्रतिभा सम्मान कार्यक्रम आयोजना गरी ३२ जना समाजका प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गरेको र त्यस सँगै ४० बर्ष भन्दा मुनिका ७ जना युवा प्रतिभा र उद्यमीलाई पनि २०७४ मा सम्मान गरेको जानकारी गराउदै यस बर्ष फरक–फरक विधा र विषय छुट्याएर भारतको अलग– अलग विश्वविद्यालयमा अध्ययन गरेर गोल्डमेडल प्राप्त गरेका व्यत्तिहरूलाई प्रतिभा सम्मान कार्यक्रम आयोजना सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा समाजका विशिष्ट व्यक्तिहरू नेपाल सरकारका उच्चपदस्थ अधिकारी, पूर्व आइजिपी सर्वेन्द्र खनाललगायत सुरक्षा निकायका अधिकारी, पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याललगायत विविध संघ(संस्थाका प्रतिनिधिहरू गरी ५ सयबढी समाजका प्रबुद्ध नागरिकहरूको उपस्थिति रहेको थियोे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.