जेठ ३, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ बर्षको उमेरमा आज बिहान २ बजे निधन भएको छ । प्रधानमन्त्रीका निजी सचिव भानु देउवाका अनुसार, उहाँको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो ।
उहाँको पार्थिव शरीरलाई आजै बिहान ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ । भाइप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री देउवा पशुपति जाँदै हुनुहुन्छ । हाम्रा कञ्चनपुर सामाचारदाता लक्ष्मणदत्त पन्तका अनुसार, लामो समय क्यान्सर रोगबाट पीडित प्रेमबहादुर देउवाको क्यान्सर अस्पताल काठमाडौंमा उपचार भइरहेको थियो ।
श्वासप्रश्वासमा समस्या आएपछि एक महिना पहिले बीर अस्पताल सरिएका उहाँको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाई घर भएका उहाँ लामो समयदेखि काठमाडौंमा बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

