वैशाख १८, महोत्तरी । गए राति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख रुपैयाँ बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित कुलदीप निमाविको पूरै छाना उडाउँदा चार लाख रुपैयाँको क्षति भएको हो । त्यस्तै, सोही नगरपालिकाको वडा नम्बर–३ मा स्थानीय शम्भु यादवले सञ्चालन गरेको पोल्ट्री फार्मको छानो उडाउँदा तीन लाख ५० हजार रुपैयाँको क्षति भएको छ ।
हावाहुरीले जिल्लाको महोत्तरी गाउँपालिका–२ बस्ने सत्यनारायण मण्डलको खपराको घर पूरै लडाउँदा पाँच लाख, सुकेश्वर मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा ६० हजार र रामाज्ञा मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा ९५ हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । यसरी हावाहुरीले महोत्तरीको विभिन्न पालिकामा गए राति १४ लाख पाँच हजार रुपैयाँबराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ । रासस

