एशियाली महादेशको सबैभन्दा ठूलो खेल आज देखि शुरु हुँदै

भदौ २, काठमाडौं । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार (आज) सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ ।

 

नेपाली समय अनुसार साँझ सवा ६ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिनेछन् । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गर्नेछन् ।

एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी हुनेछन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । इण्डोनेसियामा सन् १९६२ मा पनि एशियाडको चौथो संस्करण भएको थियो ।इण्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकूदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ । त्यस्तै थाइल्यान्डले ८१६, दक्षिण कोरियाले ८०७, चाइनिज ताइपेइका ५५८ र भारतका ५७२ खेलाडी सहभागी छन् । एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल लगायत गरी जम्मा २८५ जना सहभागी हुँदैछन् । जसमा १८५ खेलाडी ( पुरुष १२९ र महिला ५६०, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ ) रहेका छन् ।

नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जाकार्ता र बाँकी छ खेल पालेम्वाङमा हुनेछ । नेपालले आर्चरी, एथ्लेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस् क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ ।

दुई संस्करण बाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ काँस्य गरी २३ पदक जितेको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.