एमाले प्रदेश १ कमिटीबाट द्वारिकलाल चौधरीको नाम कट्यो

बैशाख ७, विराटनगर । ०७४ को निर्वाचनमा नेकपा (एमाले) बाट सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित द्वारिकलाल चौधरीको नाम प्रदेश कमिटीले काटिदिएको छ ।

एमाले प्रदेश १ कमिटीको बैठकले चौधरीको नाम काटेर बाँकी आकांक्षीको नाम मात्र केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो । प्रदेश कमिटीको आज विराटनगरमा बसेको बैठकले इटहरी उपमहानगर कमिटीबाट मेयरमा सिफारिस भएका नामबाट चौधरीको नाम हटाएर लक्ष्मी गौतम, रामप्रसाद चौंलागाई, यामकुमार सुब्बा र बन्नुलाल चौधरीको नाम केन्द्रीय कमिटीमा पठाएको हो । प्रदेश कमिटीले सिफारिस भई आएको रेवती घिमिरेको नाम पनि हटाएको छ ।

प्रदेश सचिव चिन्तन पाठककाअनुसार उपमेयरमा अमला श्रेष्ठ, संगीता चौधरी, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस भएको छ । यता, विराटनगर महानगरपालिकाको मेयरमा एमाले महानगर कमिटीबाट सिफारिस नभएका जीवन घिमिरेको नाम प्रदेश कमिटीले केन्द्रलाई पठाएको छ । प्रदेश १ का पूर्वसामाजिक विकासमन्त्रीसमेत रहेका घिमिरेले आफू मुख्यमन्त्रीको तयारीमा रहेको तर महानगरको प्रमुखमा नजाने बताउँदै आएका थिए ।

विराटनगरको मेयरमा पार्टीका महानगर अध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत, बाबुराम कार्की, महेश भट्टराई र रामलाल साहको नाम केन्द्रमा सिफारिस गरेको छ । उपमेयरमा विमला दाहाल, शिल्पा कार्की र अञ्जु उपाध्यायको सिफारिस भएको छ । धरानको मेयरमा मञ्जु भण्डारी, मोतीराज सुनुवार, विजय राई र मनोज मेन्याङ्बोको नाम सिफारिस भएको छ । नगर कमिटीले ११ जनाको नाम पठाएकोमा चार जनाको नाम मात्र सिफारिस गरेको छ । सिफारिस हुनेमा सविता राई, पदम इस्बो, लहरुमाया जिमी र सुशीला पहाडी छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.