बैशाख ४, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलबीच सोमबार (भोलि) सम्ममा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाउने सहमति भएको छ ।
आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा भोलिसम्म बाँडफाँड टुंगो लगाउने सहमति भएको हो । तर, दलहरूबीच महानगरमा आ–आफ्नो दाबी कायमै छ । नेकपा (एकीकृत समाजवादी) ले काठमाडौं वा पोखरामध्ये एक महानगर आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । एकीकृत समाजवादीका सचिव तथा संसदीय दलका सचेतक जीवनराम श्रेष्ठले दुईमध्ये एक आफूहरूले पाउनुपर्ने बताए । सांगठनिक अवस्था मूल्यांकन गरेर नै दाबी गरिएको उनी बताउँछन् ।
“काठमाडौं या पोखरामध्ये एक हामीले पाउनुपर्छ भन्ने माग हो । त्यहाँ हामी बलियो भएकाले माग गरेका हौँ । हामी जित्छौँ,” उनले भने । दलहरूले आ–आफ्नो दाबी पेस गरिरहँदा गठबन्धनमा भागबन्डा मिलाउन सकस भएको छ । स्थानीय तह निर्वाचन यही वैशाख ३० गते हुँदै छ । वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

