‘तेमाल जात्राः तामाङ समुदायको जीवन्त पर्व’

प्रारम्भ खबर ।
कला संस्कृतिले भरिएको देश नेपाल । विभिन्न जातजाती समुदायका बेग्लै पहिचान, रीति–रिवाज, संस्कृति र परम्परा छ । त्यस्तै तामाङ समुदाय र सिंगो बौद्ध धर्मलम्बीहरुको महान पर्व तेमाल जात्राको पनि छुट्टै विशेषता र मर्म छ ।

प्रत्येक वर्षझै यस वर्षमा पनि बैशाख २ गते विभिन्न कार्यक्रम गरि बौद्ध र स्वयम्भूमा मनाउन लागेको विभिन्न संघसस्थाको तयारी छ । गत वर्षहरुमा कोभिडको कारण जात्रा हुन नसकिएपनि आफ्नो संस्कार अनुसार घर तथा नजिकको गम्बाहरुमा गई बत्ति बाल्ने, प्रर्थाना तथा पूजाआजा गरि सम्पन्न गरेको थियो । आउने बैशाख २ गते भने भव्य रुपमा जात्रा सम्पन्न गराउन तामाङ संघसंस्थाहरु तयारीमा रहेको छ । त्यस्तै पूजा सहित बौद्धमा व्यवस्थापन गर्न बौद्ध मेलम्ची घ्याङ गुठी र बौद्धनथा क्षेत्र विकास समिति लगायत संस्थाहरुले स्वयमसेवक परिचालन गरिने बताएको छ । शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गर्न महानगरिय प्रहरी वृत्त बौद्ध पनि तयारी अवस्थामा रहेको त्यहाँका सुरक्षा निकायले जनाएको छ ।

बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो। चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको समापन गरिन्छ। यस जात्रालाई बौद्ध जात्रा समेत भनिन्छ।

ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्वलाई चैत पूर्णिमाको अघिल्लो दिन बौद्ध र दोस्रो दिन स्वयम्भूमा मनाईन्छ । यो जात्रामा विशेषगरी तामाङ समुदायले दिवंगत आफन्तको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमिबत्ती बाल्दै लामा गुरुहरुद्वारा विशेष पूजापाठ (ङोवा÷मोन्लम) गर्छन्। जात्रा सुरु हुँदाताक तेमाल क्षेत्रका तामाङ मात्र सहभागी हुने भएकाले यसको नाम तेमाल जात्रा रहन गएको भनाइ छ। अहिले यस जात्रामा सहभागी हुन काभ्रेको तेमाल लगायत दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, सर्लाही काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तामाङ समुदायका मानिस आउँछन्।

बौद्ध स्तूपले धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको छ। यसलाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदासूचीमा सूचीकृत गरेको थियो। बौद्ध किम्बदन्ती अनुसार सत्य युगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागार्जुन डाँडामा साधना गरेका थिए । उनैले ऋषि शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बिज रोपेका थिए। सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको कथन छ। यसरी विपश्वी बुद्धले कमलको बिज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ।

१८९१ असोज २ मा तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ पनि छ। अर्को भनाइअनुसार बौद्ध स्तूपको जीर्णोद्धारा सम्पन्न भएको खुसीमा तेमाल राजा बलले तेमाल जात्रा चलाएका हुन्। बौद्ध मार्गीले यस स्तुपलाई झ्यारुङ खस्योर छयोर्तेन भन्छन्। यस स्तूपको गर्भमा काश्यप बुद्धको अस्तुधातु राखिएको छ। अष्ट मण्डलकारको यो स्तूप नेपाली वास्तुकलाको अनुपम उदाहरण हो। यस स्तूपलाई चिन्तामणिका प्रतिक पनि मानिन्छ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.