चैत १७, जलेश्वर । स्रोत नखुलेको करिब आठ लाख रुपैयाँसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । भारत, विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका–६ स्थित प्रहरीचौकीनजिक आउँदै गरेका दासको हाउभाउमाथि शंका लागि जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको सात लाख ९१ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
दासको साथबाट प्रहरीले नेपाली एक हजार रुपैयाँ दरका नोट ५८५ थान र नेपाली नोट ५०० का ४९२ थान गरी उक्त रकम बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका युवक दासलाई गए राति नै प्रहरीले जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वरमा बुझाउन लगिएकामा भन्सार कार्यालय बन्द रहेको हुँदा उनलाई आज रकमसहित बुझाइने प्रहरी नायब उपरीक्षक विष्टले बताए । रासस

