विराटनगरमा विराट राजवंशी महोत्सव सुरु

चैत ६, विराटनगर । अल्पसंख्यक राजवंशी समुदायको संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यसाथ विराटनगरमा विराट राजवंशी महोत्सव सुरु भएको छ ।

विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगर महानगरपालिका–५, कोचाखालमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सव उद्घाटन गरेका छन् । राजवंशी समुदायको भाषा, कला र संस्कृति संरक्षण गर्ने उद्देश्यसाथ महोत्सव सुरु गरिएको आयोजकको भनाइ छ । मोरङका विराटनगर, बूढीगंगा, कटहरी र बैजनाथपुरमा अल्पसंख्यक राजवंशी समुदायको बसोबास छ ।

महोत्सव उद्घाटन गर्दै प्रमुख पराजुलीले राजवंशी समुदायको आफ्नै पहिचान रहेको र त्यसलाई उजागर गर्न स्थानीय सरकारको भूमिका अझ बढेको बताए । उनले भने, “सानो संख्यामा भए पनि राजवंशी समुदाय कला र संस्कृतिका दृष्टिले निकै सम्पन्न हुनुहुन्छ ।” समुदायको कला, संस्कृति र संस्कार जोगाउन महानगरले अझ धेरै काम गर्ने पराजुलीले बताए ।

यही चैत १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा राजवंशी समुदायका मौलिक खानपान, पहिरन र बालबालिका तथा युवाको मनोरन्जनका लागि विभिन्न खेल सामग्री राखिएको छ । यस्तै, दैनिक चर्चित कलाकारको प्रस्तुति समेत रहने बताइएको छ । महोत्सवमा ६० स्टल राखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.