मतपत्रबाटै स्थानीय निर्वाचनमा मतदान

फागुन २५, काठमाडौा । स्थानीय तह निर्वाचन, २०७९ मा कागजको मतपत्रमै मतदान हुनेभएको छ । आयोगले विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन–ईभीएम) प्रयोगका लागि सम्भाव्य अध्ययन गरे पनि स्थानीय निर्वाचनमा प्रयोग सम्भव नहुने जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा देशैभरि कागजकै मतपत्रमा मतदान हुने सुनिश्चित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्भाव्यता अध्ययन गर्न गठन गरिएको कार्यदलको सुझाव तथा प्राविधिक समस्याले ईभीएम प्रयोग हुने अवस्था रहेन ।” स्थानीय निर्वाचनपछि हुने अन्य निर्वाचनमा प्राथमिकतामा राखेर ईभीएमको प्रयोगबारे तयारी गरिने उहाँले बताउनुभयो ।

माघ २६ गते सम्पन्न आयोग बैठकले ईभीएमको प्रयोगबारे सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्राविधिक समिति बनाएर ईभीएमको प्रमाणीकरण गरेपछि मात्रै प्रयोग गर्न सकिने सुझाव दिएको छ । “तर त्यस्तो प्राविधिक समिति गठन गरेर प्रमाणीकरण गर्ने कार्य कानुनमा कतै व्यवस्था नभएको,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । कार्यदलको सुझावपछि आयोगले सरकारसँग परामर्श गर्ने जनाएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.