फागुन २३, काठमाडौं । ललितपुरको कोन्ज्यासुममा दुई दिने शिशुसहित पाँच जना मृत अवस्थामा फेला परेका छन् । कोन्ज्यासुम गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले चार जनाको घटनास्थलमा र दुई दिनको शिशुको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार बिहान घरमै चार जना शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल पुग्याउँदा चिकित्सकले मृत्त घोषणा गरेका थिए । अर्का एक जनाको अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
घरैमा मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्ताङ, २३ वर्षीया सुष्मा स्याङ्ताङ, नौ वर्षीय आशिष स्याङ्ताङ र सात वर्षीया आश्मा स्याङ्ताङ रहेको एसएसपी पोखरेलले जानकारी दिनुभयो । त्यस्तै, २३ वर्षीय शुभ स्याङ्ताङको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

