पोखराका दुई ठाउँमा बर्डफ्लु पुष्टि

फागुन १८, काठमाडौँ । पोखरामा एभियन ईन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ। पोखराका दुई ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो। वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

६ गते पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्ममा कुखुरा मरेपछि त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याएका थिए । त्यहाँको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो। खुसीमानसँगै पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि पठाइएको थियो । उनको कुखुरामा समेत बर्डफ्लु पुष्टि भएको छ। रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ। जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पन्छीजन्य कारोबारमा बन्देज लगाइएको समितिका सूचना अधिकारी डा. गृष्म न्यौपानेले जानकारी दिए।

‘किसानले पालिरहेको कुखुरा मर्‍यो भनेर टेष्ट गर्न ल्याउनुभयो । यहाँ पोजिटिभ देखिएपछि काठमाडौं पठाएका थियौं, त्यहाँ पुष्टि नै भयो,’ उनले भने, ‘१५ गते नेपाल सरकारको मन्त्रिस्तरको निर्णयबाट प्रभावित क्षेत्र तोकिएको छ। आजै ४ किल्लाभित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु हुन्छ।’ संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको छ।

योसँगै बुधबारदेखि २७ गतेसम्म जोखिम क्षेत्रमा पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ। ‘घरको छतमा राखेर पाल्ने र खुला जमिन भएकोले वरिपरि पनि गएको हुन सक्ने आशंका छ। हामी खोजी गरिरहेका छौं,’ न्यौपाने भन्छन्, ‘व्यवसायिक फार्म नभएकोले खासै धेरै क्षति हुँदैन भन्ने आँकलन छ। रोगले मरेको मरिहाल्यो, जिउँदो धेरै छैन ।’ अव्यवस्थित पालन र कारोबारका कारण उक्त क्षेत्र सधैं बर्डफ्लुको उच्च जोखिममा छ। केही वर्षअघि पनि पोखरा १४ को मझेरीपाटन (अहिले देखिएकै ठाउँ नजिक) मा संक्रमण फैलिएको थियो। ३ वर्षअघि मादी गाउँपालिकामा देखिएको थियो।

बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानहरुलाई सचेतनाका सामग्री प्रकाशन प्रशारण गरिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ। अधिकतम प्राविधिकहरू खटाएर जोखिम क्षेत्रलाई निगरानीमा राखिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.