भैरव पुरस्कारबाट स्रष्टाहरू सम्मानित

फागुन १४, काठमाडौं । शाश्वत व्यंग्य शिल्पी भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार गुठीले घोषणा गरेको पुरस्कारहरू स्रष्टाहरूमा समर्पण गरेको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले २०७८ सालको ‘भैरव पुरस्कार’ व्यंग्यकार नरनाथ लुइँटेललाई प्रदान गरे । पुरस्कारकासाथ नगद राशि १ लाख ११ हजार १११ रुपैयाँ पनि प्रदान गरियो । त्यस्तै गुठीले पहिलो पटक घोषणा गरेको ‘भैरव वाङ्मय पुरस्कार २०७८’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो ।

१ लाख १ हजार १११ रुपैयाँ नगद राशिसहितको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, संगीत, पत्रकारितालगायत क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई अब वर्सेनि प्रदान गरिने गुठीका अध्यक्ष घिमिरले जानकारी दिए । कार्यक्रममा ५१ हजार १११ नगद राशिसहितको ‘भैरव प्रतिभा पुरस्कार २०७८’ साहित्यकार विमल भौकाजीलाई प्रदान गरियो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरूका बारेमा श्रीओम श्रेष्ठ रोदन, डा. रमेश शुभेच्छु तथा दिव्य गिरीले बोलेका थिए ।

कार्यक्रममा रामेश्वर फुयाँल, सन्तोष चालिसे, विजय चालिसे, वसन्त रिजाल, प्रा. डा. दीपक अर्याल, गोपाल बराल, उद्धव रायमाझीलगायतले भैरव अर्यालको व्यङ्ग्यकारिताका बारेमा बोलेका थिए । सोही अवसरमा सम्पन्न गुठीको साधारणसभाले साहित्यिक पत्रकार रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । जसअनुसार गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा अजीत नेपाल चयन भएका छन् । गुठीको सदस्यहरूमा बद्री अर्याल, रश्मी शर्मा, गोपाल बराल, प्रा. डा. दीपक अर्याल, उद्धव रायमाझी, गोविन्द घिमिरे ‘वेदमणि’, मेनका पोखरेल, घनश्याम प्रसाईं र निर्मल अर्याल छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.