फेरि फेवातालको पानी सुकाइँदै, पाँच करोड लिटर पानी घटाउने तयारी

फागुन ९, पोखरा। पोखरास्थित फेवातालको पानी फेरि घटाइने भएको छ। जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरी पानी सुकाउने जानकारी दिएको हो।

सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो। सिँचाइको नहर यही कल्भर्टबाट बग्छ । पानी निरन्तर बगेकाले काम गर्न समस्या परेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ। सडककै आग्रहअनुसार १० फागुनदेखि पानीको सतह घटाउन लागिएको छ। ३० वैशाखसम्म बाँध खोल्ने र सतह घटाइने कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए ।

उनका अनुसार पहिलेजस्तो सुख्खा हुनेगरी सतह घट्दैन। ‘२० सेन्टिमिटर जति बाँध खोल्छौं। यसबाट पाँच करोड लिटर पानी बग्छ,’ उनले भने, ‘कल्भर्टको काम सकिनेवित्तिकै बाँध बन्द हुन्छ । पहिले जस्तो धेरै सतह अहिले घट्दैन।’ यसअघि पनि फेवाको बाँध मर्मतका लागि तालको पानी सुकाइएको थियो। तत्कालीन समयमा सतह निकै घटेकाले पर्यटकसमेत समस्यामा परेका थिए । अहिले भने महसुस नहुने गरी बाँध खोलिने बताइएको छ।

‘बढेको पानी फाल्ने हो। अहिले फाल्न लागेको बढी भएको पानी हो,’ आचार्य भन्छन्, ‘ड्याम बनाएपछि सतह बढेको छ । अहिले फेवाले बढी पानी होल्ड गरेको छ।’ ठेकेदार कम्पनीलाई पनि तोकिएकै समयभित्र फाष्ट ट्रयाकमा काम गर्न कार्यालयले सूचना जारी गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.