नमोबुद्धबाट ६ जना जुवाडे पक्राउ

फागुन ८, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–७ स्थित एक घरबाट छ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

स्थानीय गोपाल कुइँकेलको खाली अवस्थामा रहेको घरमा अवैधरूपमा बाजी थापी हारजित हुनेगरी जुवातास खेल्ने खेलाउने भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मङ्गलटारबाट शनिबार राति खटिएको टोलीले उक्त घरमा तास खेलीरहेको अवस्थामा नगदसहित छ जनालाई पक्राउ गरिएको जिप्रका धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा धुलिखेल नपा–३ का ४० वर्षीय अर्जुन तामाङ तथा सोही नपा–११ निवासी ५५ वर्षका लक्ष्मणप्रसाद थपलिया, पनौती नपा–१२ का ३० वर्षीय राजकुमार न्यौपाने, रौतहटको बोधिमाई नपा–२ का ३२ वर्षीय सञ्जीव जैसवाल, दोलखाको बैतेश्वर नपा–४ का ३० वर्षीय जगदीश दियाली र सर्लाहीको ईश्वरपुर गाउँपालिका–५ का ४२ वर्षीय हरिबहादुर रोक्का रहेका छन् । खालबाट रु दुई लाख ८८ हजार ३० नगद तथा नखोलेको १६ बट्टा तास र खोलिएको तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकालाई मुलुकी फौजदारी संहिता–२०७४को दफा १२५ को उपदफा १ बमोजिम कसुरमा मुद्दा चलाइनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.