लिलाम हुँदै ‘अर्बौँ वर्ष पुरानो’ रहस्यमय कालो हीरा

माघ २२, काठमाडौँ । पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको हीरा मानिएको ‘कालो हीरा’ लिलाममा विक्री हुन लागेको छ। यो हीरा अर्बौँ वर्षअघि बनेको बताइन्छ। ‘द एनिग्मा’ नामक उक्त रत्नको उत्पत्तिबारे विभिन्न मान्यताहरू छन्। तीमध्ये एउटाका अनुसार यो अन्तरिक्षबाट पृथ्वीमा आइपुगेको हो।

यो हीरा ५५५.५५ क्यारेटको छ जुन एकदमै अस्वाभाविक हो। यसको तौल एउटा केराको जति छ। सजावट कला, गहना र विभिन्न वस्तुको ठूलो विक्रेता सथबीले लन्डनमा लिलामीमा राखेको यो हीराले ६० लाख डलरभन्दा बढीमा मूल्य पाउने अपेक्षा गरेको छ। अनलाइन माध्यमबाट इच्छुक क्रेताहरू आगामी सातासम्म लिलाम बढाबढमा सहभागी हुन सक्छन्।

के हो कालो हीरा ?

यो हीरा कार्बनेडो अर्थात् प्राकृतिक हीराको सबैभन्दा कडा स्वरूपहरूमध्ये एक हो। कालो हीरा सामान्यतया झन्डै २।६ देखि ३।२ अर्ब वर्ष वा डाइनसोर अस्तित्वमा हुँदाको समयभन्दा पुरानो हुन्छ। पृथ्वी झन्डै ४.६५ अर्ब वर्षअघि उत्पन्न भएको हो। त्यसैले पृथ्वी र यो हीराको आयुको तुलना गर्ने गरिएको छ।

किन विशेष ?
कार्बनेडोहरू अत्यन्त दुर्लभ हुन्छन्। यी ब्रजिल र मध्य अफ्रिकी गणतन्त्रमा मात्र फेला परेका छन्। तिनमा उल्कापातमा मात्र पाइने ओस्बर्नाइट नामक एक किसिमको खनिज हुन्छ। त्यसैले यो हीरा अन्तरिक्षबाट उत्पन्न भएको विश्वास गरिन्छ। तर यसको उत्पत्ति कहाँ भएको हो भन्ने कुरा अहिलेसम्म रहस्यकै गर्भमा छ। लस एन्जलिसको प्राकृतिक इतिहास सङ्ग्रहालयका भूवैज्ञानिक आरोन सेलेस्टिअनका अनुसार कार्बनेडोहरू “पृथ्वीको आन्तरिक भागको गहिराइमा हुन सक्छन्, जुन यसअघि हीरा पाइने स्थानहरूभन्दा धेरै गहिरोमा हुन सक्छ।”

“केही परिकल्पनाहरू छन् जसले ठूलो क्षुद्रग्रह पृथ्वीमा खस्दा प्रभावित स्थलहरूमा ती कार्बेनेडोहरू बनेको सङ्केत गर्छ।” एउटा अर्को सिद्धान्तका अनुसार पृथ्वीमा खस्नुअघि बाह्य अन्तरिक्षमा कालो हीरा बनेको हुनसक्छ। सथबीले यो हीराको विक्रीलाई “मानवजातिलाई थाहा भएका दुर्लभ, अर्बौँ वर्ष पुराना आश्चर्यहरूमध्ये एक प्राप्त गर्ने अवसर”को रूपमा व्याख्या गरेको छ। ठ्याक्कै ५५५.५५ क्यारेट तौलको हीरालाई ५५ वटा पाटो देखाउनेगरी काटिएको छ।– बिबिसि

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.