सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई मन्त्रालयको पत्राचार

माघ १९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै होटेल याक एन्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटेल्स लिमिटेड (र्‍याडिसन होटेल) लाजिम्पाट, रक इन्टरनेसनल प्रालि काठमाडौं, ह्याप्पी आवर प्रालि काठमाडौं र सेन्ट्रल मिडिया प्रालि काठमाडौंले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता होटेल याक एन्ड यती लिमिटेड दरबारमार्ग काठमाडौंले २० करोड ६८ लाख १५ हजार रुपैयाँ, ओरियन्टल होटेल्स लिमिटेड (र्‍याडिसन होटेल) लाजिम्पाटले १८ करोड ७६ लाख, रक इन्टरनेसनल प्रालि काठमाडौंले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ, ह्याप्पी आवर प्रालि काठमाडौंले २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौंले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ ।

गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको बक्यौता चुक्ता नभएकाले सातदिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो । यसअघि, सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो ।

काठमाडौंको सांग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटेलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख रुपैयाँ बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ ।  क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तुरसहित १४ करोड २० रुपैयाँ नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो । पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाए कारबाही हुने चेतावनी दिएका छन् । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.