सिंहदरबारमा भीड कमः कर्मचारी व्यस्त काम चुस्त

पुस ३०, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ ।

कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेश गर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै भीडभाड थिएन । राजनीतिक भेटघाट र अन्य कामका लागि आउनेहरूको पास रद्द भएपछि मन्त्रालयहरूमा भीड पनि घटेको छ । बिहीबार दिनभरि प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनकराज भट्टको टेबलमा खासै फाइलको चाङ थिएन । सिंहदरबारस्थित उहाँको सचिवालयमा कार्यालयका कर्मचारीबाहेक अरू मान्छे पनि थिएनन् ।

प्रधानमन्त्रीको भेटघाटको तिथिमिति तय, कार्यक्रमको व्यवस्थापन, कर्मचारी सरुवा, योजनामा बजेटका लागि सिफारिस, आयोग, प्रतिष्ठानका कामकारबाही, वैदेशिक भ्रमण, मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायतका दर्जनौँ प्रकृतिका काममा सधैँ व्यस्त हुनुपर्ने प्रधानमन्त्रीको निजी सचिवालयमा दैनिक सयौँ फाइलको चाङ लाग्ने गर्छ । तर बिहीबार भने सचिवालयमा सिंहदरबारभित्र रहेका मन्त्रालयहरूबाट प्राप्त हुने फाइल, चिठ्ठीपत्रबाहेक खासै कामको चाप देखिएन ।

कामको विषय र प्रकृति हेरेर सिंहदरबार र प्रधानमन्त्रीको निवास बालुवाटारसम्म धाउने व्यक्तिहरूको भीड लाग्ने प्रधानमन्त्रीको सचिवालय बिहीबार सुनसानझैँ थियो । अत्यावश्यक सबै खालका फाइलको काम भइरहेको बताउँदै निजी सचिव भट्टले नियमित काम गरेर पनि ‘कोभिडबाट जोगिन्छ कि’ भन्ने महसुस भइरहेको बताउनुभयो ।– गोरखापत्र अनलाईन

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.