पुस ९, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिखित सहमति गर्दा पनि केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन् ।
पार्टीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले ओलीले बीचमा आएर प्रधानमन्त्री छाड्न नमानेको पनि बताए । आधा कार्यकाल पूरा भएपछि अन्य नेताहरूसमेत साक्षी राखेर ओलीले बजेटसँगै आफूलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरे पनि ओलीले धोका दिएको दाबी गरेका छन् ।
प्रचण्डले एमालेसँग एकता गरेर आफूले कुनै गल्ती नगरेको पनि बताएका छन् । पार्टी एकताको प्रस्ताव आफूले नै गरेको दाबी गर्दै उनले त्यसमा पश्चाताप नरहेको जिकीर गरेका हुन् । आफ्नै प्रस्तावलाई दुवै पक्षका नेता र जनताहरूले समर्थन गरेर दुईतिहाइ मत दिएको उनको दाबी छ । तर, पार्टी एकता भंग गर्ने सहमति उल्लघन गर्ने काम ओलीले नै गरेको प्रचण्डको भनाइ छ ।

