भातको माड यति धेरै उपयोगी

हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। कान्जी समेत भनिने यो भातपानी स्वास्थ्यका दृष्टिले धेरै हितकर छ। छालाको समस्यादेखि स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अन्य समस्याको समाधानको लागि भातको माड (भात पानी) प्रभावकारी मानिन्छ। यसका फाइदा यस प्रकार रहेका छन्ः

छाला कसिलो बनाउछः भातको माडलाई अनुहारमा लेपन लगाउदा अनुहार सफा र चम्किलो हुन्छ। यसमा सफा गर्ने विशेष तत्व हुने भएकोले फेस वास वा टोनरको रुपमा प्रयोग गर्न सकिन्छ। यसको नियमित प्रयोगले छाला कसिलो र जवान मानिसको जस्तै कलिलो र चम्किलो बनाउछ।

पोषण तत्वः भाइरल संक्रमणको बेला वान्ता आउने तथा शरिरमा डिहाइड्रेसन हुने गर्छ। भातको माडले डिहाइड्रेसनबाट मात्र जोगाउदैन ज्वरो आउदा गुमाएको आवश्यक पोषण तत्वको पूर्ती गरिदिन्छ।

पखलाको औषधिः बालबालिकामा लाग्ने पखला रोक्न भातको पानी निकै प्रभावकारी औषधी हो। यो पानीले बालबालिकाको पेट गढबढ हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ। पखला लाग्दा शरीरबाट अत्यधिक पानी जाने भएकोले भातको पानीले पूर्ती गरिदिन्छ।

कब्जियतको समाधानः भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई समाधान गरिदिन्छ। पेट डुम्म भयो वा शौच गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट मुक्ति मिल्छ।

स्वस्थ कपालः भातको पानीले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ। गर्मी मौसममा भातको पानीलाई शिरमा दल्दा टाउकोमा शितल अनुभूति हुन्छ र यसले कपाललाई पनि छिटो छिटो वृद्धि गराउछ। स्याम्पु दलेपछि कपालमा कन्डिसनर मसाज गरेजस्तै गरी भातको पानी प्रयोग गर्नुहोस, र केही मिनेटपछि चिसो पानीले सफा गर्नुहोस, कपाल मुलायम र चम्किलो हुन्छ।

शितल स्नानः भातको पानीमा मा एउटा स्वभाविक चिस्याउने तत्व हुने भएकोले सूर्यको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न भातको पानी प्रभावकारी उपाय हुन सक्छ। मलमलको कपडामा केही अर्धकल्च पाकेको चामल खन्याउनुहोस र आधा घन्टा नुहाउने पानीमा राख्नुहोस्। भातको पानीले नुहाएर स्वच्छ र स्फूर्तीलो हुनुहोस।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.