अनियमितता रोक्ने काम कार्यालय प्रमुखको हो : प्रमुख आयुक्त राई

मंसिर १०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखले सुशासन तथा सदाचारिता कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले भने “अख्तियारले भ्रष्टाचार र अनियमितताका विभिन्न कारण खुलाउँदै सरकारलाई कार्यान्वयन गर्न सुझाव दिएको छ, तर कार्यान्वयन हुनसकेको छैन ।” मुलुकका एक हजार ७७० रुग्ण आयोजनाको अध्ययन, अनुसन्धान भई अहिले सम्पन्न हुने अवस्थामा पुग्दा त्यसको सकरात्मक प्रभाव परेको जिकिर गर्दै प्रमुख आयुक्त राईले पछिल्लो समयमा स्थानीय तहका उजुरी बढेको बताए । शिक्षा, भूमि व्यवस्था, वन तथा वातावरणलगायत क्षेत्रमा बढी उजुरी परेको उनको भनाइ थियो । विभिन्न आयोजनामा ठेक्का लगाउने निकायले निरन्तर अनुगमन गर्न सुझाउँदै प्रमुख आयुक्त राईले फितलो अनुगमनका कारण बेलैमा कुनै पनि योजना सम्पन्न नहुने र त्यसले विकास प्रभावित हुँदै गएको जनाए । सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षणमा ध्यान पुर्याउन आग्रह गर्दै उनले अख्तियारले जवाफ माग्दा जवाफ नदिने कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।

उक्त समारोहमा आयोगका सचिव तोयम रायाले आयोगले सुशासन कायम गर्न भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि २००३ मा पक्ष राष्ट्र भएर नेपालले हस्ताक्षर गरेकाले नेपालको छवि गुमाउन नहुने गरी काम गर्न आग्रह गरे । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले सदाचारिता र इमान्दारिता हरेक व्यक्तिको सम्पत्ति भएकाले यसलाई शिरमा राखेर कर्मचारीले आफ्नो तहको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.