मंसिर १, काठमाडौं । प्रहरीले काठमाडौंबाटै नक्कली नोटको कारोबारी गर्ने पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ । ६५ हजार तीन सय ३५ नक्कली नोटसहित प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ७ स्थित दक्षिणढोकाबाट पाँच जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मंगलबार बेलुका केही व्यक्तीले नक्कली नोट जस्तो देखीने पैसा साथमा लिई सामानहरु खरीद गर्न लागेको भन्ने सूचनाको आधारमा उक्त स्थानमा गई खोजी गर्दा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं. ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापा मगर, रामेछाप शिरुवारी गाउँपालिका वडा नं.२ घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपन बस्ने २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका २ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० मिलनचोक बस्ने १९ वर्षीय चिरन्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन्।

गोमा श्रेष्ठको साथबाट एक सय थानका नक्कली नोटहरू बरामद भएपछि थप खोजी गर्दै जादा उनीहरु पक्राउ परेका थिए । गोमाले त्यो पैसा छोरी पुष्पा थापामगरबाट लिएको बयान दिएकी थिइन । त्यसपछि प्रहरीले पुष्पाको कोठमा छापा मार्दा ५०० र १००० को नोट बनाउनको लागि प्रिन्ट गरी पैसाको आकारमा काटेर राखेको अवस्थामा केही कागज समेत बरामद गरेको थियो ।

