भूमि सम्बन्धी समस्या समाधानको काम चाँडै सकाउन पदाधिकारीलाई मन्त्री श्रेष्ठको निर्देशन

कात्तिक २९, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उदेश्य अनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।

 

राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौंमा आज भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुती कार्यक्रममा मन्त्री श्रेष्ठले यस अघिका आयोगहरुले गरेका कामहरुलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्नेगरी योजनाबद्ध रुपमा लाग्न आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले संविधानमा भएको ब्यबस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अव ढिलाई गर्न नहुने भन्दै प्रभावकारी रुपमा काम गर्नेगरी योजना र कार्यविधि बनाउन निर्देशन समेत दिनुभयो ।

“आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अव अन्त्य हुनुपर्छ, अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ, नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भैसक्यो, जुन कुरा संविधानमा नै छ त्यो काम गर्न ढिला गर्नु हुदैन भूमिहिन किसानका समस्या छिटोभन्दा छिटो समाधान गरेर उनीहरुलाई अधिकार सम्पन्न गराउनु पर्छ,” मन्त्री श्रेष्ठले भन्नुभयो । मन्त्री श्रेष्ठले भूमिहिन दलित, भुमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासी सम्बन्धी समस्या फेरी पनि रहिरहने र पटक–पटक आयोग र समिति बनाउने कार्यको अन्त्य गर्ने गरी काम गर्न समेत आयोगका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले कार्ययोजना तयार पारेर जतिसक्दो छिटो काम सम्पन गर्नेगरी अगाडी बढेको बताउनुभयो । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गणेश पाण्डे, नापि विभागका महानिर्देशक प्रकाश जोशी र राष्ट्रिय भूमि आयोगका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.