प्रारम्भ खबर,
कात्तिक ३, काठमाडौँ । दशैपछि फोहोर व्यवस्थापन नहुँदा काठमाडौँका अधिकांश शहरहरुका चोक तथा सार्वजनिक स्थानहरुमा फोहोरको चाप बढ्न थालेको छ । त्यस्तै काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जम्बुडाँडा परिसरमा भने सवारी तथा पैदलयात्री हिड्ने सडक नै ठप्प पार्ने गरी फोहोरको डंगुर थुप्रिएको छ ।
अरु बेला समेत फोहोर थुप्रिएर नाक खुम्चिएर हिड्नुपर्ने बाध्यता रहेको त्यस क्षेत्रमा दशैयता सडक नै अवरुद्ध गरी फोहोर थुप्रिन थालेको छ । अव्यवसिथत शहरको बढ्दो चापसंगै हुने त्यस्ता फोहोर व्यवस्थापनमा स्थानीय सरकार र सम्बन्धित निकाय कमजोर भएपछि सार्वजनिक स्थानमा फोहोर थुपारेर आम सर्वसाधारणलाई सास्ती बनाउँदै आएको छ । अहिले जम्बुडाँडा परिसरमा रहेको होटल तथा पसल व्यवसायीहरु आफ्नै सटर अगाडी देखिएको फोहोरले आजित बनिरहेको बेला स्थानीय जनप्रतिनिधि भने मुकदर्शक बनेर बसेको उनीहरुको आरोप छ ।

परिसर वरिपरिका मान्छे तथा अन्य ठाउँबाट रातको समयमा आएर फोहोर फाल्दै जाने भएकोले आफूहरुलाई थाहा नभएको र विहान व्यापार व्यवसायी गर्न आउँदा बस्नै नसकिने गरि दुंर्गन्ध आएको गुणासो गर्छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसक्दा आफूहरुले रोगको सिकार हुने बताएका छन् । सरकारलाई राजस्व तिरेर आफ्नो व्यवसाय गर्न पनि मुस्किल परेका तिनीहरु फोहोरको दुर्गन्धले गर्दा ग्राहकहरु नआएको बताउँछन् । त्यसमाथी पानी परेका कारण हिलो र दुर्गन्धले बस्नै सक्ने वातावरण नरहेको उनीहरु बताउँछन् ।
फोहोर व्यवस्थापनमा अब्बल रहेको दावी गर्दै आएको गोकर्णेश्वर नगरपालिका र वडा ५ को प्रायः सबै सार्वजनिक चोक तथा सडकछेऊमा फोहोरको डंगुर थुपारेर राखेका हुन्छन् । विभिन्न संघसंस्थामार्फत जनचेतनामूलक तथा फोहोरमैला व्यवस्थापनको नाममा लाखौँ बजेट खर्चिए पनि कुनै परिवर्तन आउन नसकिएको सरोकारवालाहरु बताउँछन् । स्थानीय सरकारका नेतृत्वकर्ताहरुले सही व्यक्ति वा संघसंस्थामार्फत नभएर आफ् निकटका व्यक्ति तथा कार्यकर्तामार्फत बजेट सिध्याउने काम गरेको आरोप लागेका नगरपालिका तथा वडाहरु यतिखेर बेखबर बनेका छन् ।

फोहोरमुक्त नगर तथा वडाको घोषणा गरिसकेका नगरप्रमुख सन्तोष चालिसेले विगत ४ वर्ष अगाडी नै जापानबाट अध्याधुनिक मेसिन ल्याईसकेको र फोहोर चाँडै व्यवस्थापन हुन्छ भन्ने भाषण सुनाउँदै आए पनि त्यो व्यवहारमा लागु भएन । त्यस्तै वडा अध्यक्ष नारायण सुवेदीले आफ्नो वडाको फोहोर व्यवस्थापनमा अब्बल दावी गरेर विभिन्न शीर्षमा स्काउट, संघसंसथालाई बजेट विनियोजनको सिफारिस गरेता पनि फोहोर व्यवस्थापनमा भने शून्य प्रतिफल आएको स्थानीयहरुको गुणासो छ । त्यस्तै वडा ५ र ६ को क्षेत्रमा पर्ने बागमति कडिडोरमा समेत अव्यवस्थित तरिकाले फोहोर संकलन गरी सडक तथा आसपासलाई दुर्गन्धित बनाएको छ । एक नीजि कम्पनीले सार्वजनिक जमिन प्रयोग गरी स्थानीय तथा आम नागरिकको स्वास्थ्यमाथी खेलवाड गरीरहेको गुणासो पहिल्यैदेखि आएता पनि सम्बन्धित निकाय भने कानमा तेल हालेर बसिरहेका छन् ।
अति सम्वेदनशील क्षेत्र एरपोर्टकै नजिक फोहोरको थुप्रो बनाएपछि चील, गिद्ध जस्ता पंक्षीहरु आउने र हावईजहाजलाई समेत दुर्घटना पार्न सक्ने जानकारहरु बताउँछन् । मानवीय संवेदनशील तथा मापदण्ड विपरीत फोहोर संकलन कार्य गर्दै आएपनि स्थानीय सरकार तथा सम्बन्धित निकाय चुपचाप बसेपछि जसको शक्ति उसकै भक्ति भन्ने युक्तीसंगत सावित भएको छ ।
वस्तावमा गत ४ वर्षअगाडी मेयर चालिसेले घोषणा गरेको त्यो जापानीज मेशिन कहाँ छन ? कसले प्रयोग गरिदै छ त्यसको खोजीको विषय बनेको छ । चोक तथा सडकमा हुने त्यस्ता फोहोर चाँडै व्यवस्थापन होस् यसैमा सबैको भलो हुनेछ ।

