राष्ट्रिय जनगणना-२०७८ को काम दोस्रो चरणमा प्रवेश

असोज २६, काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को काम दोस्रो चरणमा प्रवेश गरेको छ। गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको हो।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले घर तथा घरपरिवारको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको जानकारी दिए।

उनका अनुसार आगामी कात्तिक ४ र ५ गते नयाँ जिल्ला जनगणना अधिकारी र सहायक जनगणना अधिकारीको अनलाइन तालिम सञ्चालन हुने, कात्तिक ६ देखि ९ सम्म नयाँ स्थानीय जनगणना अधिकारीलाई मुख्य प्रश्नावलीको जानकारी दिने, कात्तिक १० गते गणक तालिममा प्रशिक्षण गर्ने मुख्य प्रशिक्षक र छानिएका सुपरिवेक्षकबीच छलफल गर्ने कार्यतालिका निर्माण गरिएको छ।

त्यस्तै, कात्तिक ९ देखि ११ गते गणकको नियुक्ति गर्ने, कात्तिक १३ देखि १६ गतेसम्म गणकलाई तालिम प्रदान गर्ने र आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मुख्य गणना कार्य गर्ने कार्यतालिका निर्माण गरिएको छ। उनले भने, “पहिलो चरणको घर तथा घरपरिवार कार्य सम्पन्न भएसँगै सो घर तथा घरपरिवारका आधारमा अब जनगणनाको मुख्य गणना कार्य हुन्छ, यससँगै जनगणना कार्य दोस्रो चरणमा प्रवेश गरेको छ।” पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको र जिल्लाबाट तथ्याङ्क सङ्कलनका क्रममा रहेको विभागले जनाएको छ।

कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने मुख्य गणनामा भने एक जना व्यक्तिले कतिवटा बैङ्कमा खाता खोलिएका छन् ? खाता नखोलिएका व्यक्तिको सङ्ख्या कति छ ? बैङ्कबाट ऋण लिएका र व्यवसायका लागि तालिम लिएका व्यक्ति कति जना छन् ? भन्ने यस वर्षको जनगणनामा नयाँ प्रश्नावली थप गरिएको छ। राष्ट्रिय जनगणना २०७८ का लागि देशभर ८७ वटा प्रदेश तथा जिल्ला जनगणना र ३४९ वटा स्थानीय कार्यालय सञ्चालन आएका छन्। यस पटकको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता भन्ने तय’ गरिएको छ।गोरखापत्रबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.