असोज १७, काठमाडौँ । चाडपर्वमा हुने बजार मूल्य वृद्धिले उपभोक्ता मारमा परेका छन् । चाडपर्वहरु नजिकिदै गर्दा व्यवसायीहरुले आफूखुसी मूल्य बढाउने र कृत्रिम अभाव सिर्जना गर्दै आएको परिपाटीलाई अन्त्य गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था विषयक चेतनामूलक अन्तरक्रिया कार्यक्रम’मा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले चाडपर्व लक्षित बजार अनुगमनमा सो तथ्य भेटिएको बताएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतले आफूखुसी मूल्य राखेर क्षणिकतामा नरमाउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले व्यवसायीको नैतिकतामा रहेर उपभोक्ता हितको लागि लाग्नुपर्ने बताउँदै कालोबजारी र गलत कामकारबाहीलाई प्रोत्साहन हुने काम नगर्न अनुरोध गरे ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वाणिज्य विभागको जनशक्ति कम भएका कारणले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताए । उपभोक्ताको हित र अधिकारलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन नसकेको उनले बताए । स्थानीय जनप्रतिनिधिलाई बजार अनुगमनको जिम्मेवारी दिदाँ प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेको अध्यक्ष महर्जनले उल्लेख गरे।

त्यस्तै महानगरीय प्रहरी प्रभाग उपत्यका प्रहरीका प्रवक्ता सुशिलसिंह राठौरले उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको बताए । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निमित्त महानिर्देशक शिवराज सेढाईले उपभोक्ता अधिकार र बजार अनुगमनमा सबै उत्तिकै जिम्मेवार हुनुपर्ने भनाई राखे । विभाग स्रोत अनुगमन र सूचनामा आधारीत अनुगमनमा केन्द्रीत भएको बताउँदै बजार अनुगमनका लागि हाल विभागले ६ वटा टोली परिचालन गरी लत्ताकपडा, खाद्यान्न र मासुको मूल्य र गुणस्तरमा केन्द्रीत भएर बजार अनुगमन गरीरहेको उनले जानकारी दिए ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले सुरक्षा योजना बनाएर प्रशासन क्रियाशील भएको बताउँदै ढुक्कसँग चाडपर्व मनाउन आम नागरिकलाई आग्रह गरे । चाडपर्वको बेला सर्वसाधारणहरु ठगिने र असुरक्षित महसुस गर्ने हुँदा त्यस्ता अपराधिक कार्यलाई नियन्त्रण गर्नका लागि सुरक्षा योजना बनाएकोले सर्वसाधारणहरुले सुरक्षाको अनुभूति गर्न सक्ने जिकिर गरे ।
कार्यक्रमको अध्यक्षता तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईले गरेका थिए ।

