‘केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’

भदौ ३०, काठमाण्डौं । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छिन् ।

वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले अब पूर्णता पाउने बताएकी हुन्। मन्त्री भुसालले भनिन् “दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही असोज ३० गते संसद्बाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।”

मन्त्री भुसालले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन लाग्नुपर्नेमा जोड दिईन् । उनले वर्तमान निर्वाचन प्रणालीका कारण एउटै पार्टीको बहुमत नआउने स्थिति देखिएकाले चुनावमा अरु पार्टीसँग पनि गठबन्धन गरिने उल्लेख गरीन् । “अरु पार्टीको भर पर्नुभन्दा पनि आफैँ सुदृढ भएर अगाडि बढ्नुपर्छ”, उनले भनिन्, “माओवादीलाई ठूलो पार्टी बनाउन अहिलेदेखि नै लाग्नुपर्छ ।” उनले सरकारका राम्रा कामको प्रचार जनतामाझ पु¥याउन आग्रह गरीन् ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य दीनानाथ शर्मा, गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालालगायत सहभागी थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.