भदौ २२, काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थित वडा –१ मा जेष्ट नागरिक सेवा आश्रम निर्माणका लागि छलफल प्रक्रिया थालेका छन् ।
आश्रमलाई सामुदायिक रुपमा विकास तथा थप व्यवस्थापनका लागि बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले रु. २० लाख बजेट विनियोजन गरेको छ । नेप्लीज ओमन सोसाईटीबाट सञ्चालनमा रहेको त्यस आश्रममा पुरुष ब्लक निर्माणका लागि सो रकम विननियोजन भएको प्रदेश सांसद तथा पूर्वमन्त्री रामेश्वर फुयाँलले जानकारी दिए ।

छलफल कार्यक्रममा सांसद फुयाँलले बेवारिसे अवस्थामा फेला परेका जेष्ट नागरिकहरुलाई सुरक्षित तथा मनोरञ्जनसहितको वातावरण उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गर्दै आश्रमलाई थप व्यवस्थापन गर्न मन्त्रालयको तर्फबाट बजेट विनियोजन गरेको बताए । वृद्ध आश्रम व्यवस्थापन गर्न कठिनाई भएकोले त्यसको सम्पूर्ण मापदण्डलाई अध्ययन गरी भवनको संरचना निर्माण गर्नुपर्ने बताए । बजेट अपूग भएपनि त्यस ठाउँमा आश्रमको सुरुवात भइसकेकोले थप व्यवस्थित बनाउन नगरपालिका तथा विभिन्न संघसंस्थालाई सहयोग गर्न आग्रह गरे ।

छलफल सकिएपछि आश्रम क्षेत्रमा वर र पिपलको रुख रोपेका थिए । जेष्ट नागरिकहरुलाई खुल्ला तथा स्वच्छा हावापानीसहितको वातावरणमा जीवन जिउन सहज होस् भन्ने उद्देश्यका साथ वृक्षरोपन गरेको नेप्लीज ओमन सोसाईटीका अध्यक्ष पुस्कर प्याकुरेलले बताए ।

