दुवै हात नभएका चिनियाँ पौडी खेलाडीले जिते कीर्तिमानसहित चार स्वर्ण

भदौ १८, काठमाडौँ । दुवै हात नभएका चिनियाँ पौडी खेलाडी जेङ ताओले टोक्यो पाराओलिम्पिक्समा कीर्तिमान भङ्ग गर्दै चार स्वर्ण जितेपछि चर्चित बनेका छन्।

‘छोरी, मलाई हेर – मसँग हात नभए पनि म चाहिँदो छिटो पौडिन सक्छु !’ एउटा पौडी जितेपछि जेङले छोरीका लागि राखेको भिडिओ सन्देशमा भनेका छन्। बाल्यकालमा करेन्ट लागेर दुवै हात गुमाएका जेङले फ्रीस्टाइल, ब्याकस्ट्रोक र बटरफ्लाई स्पर्धामा कीर्तिमान भङ्ग गर्दै स्वर्ण जितेका हुन्। उनले सबै एकल स्पर्धामा विश्व वा पाराओलिम्पिक्स कीर्तिमान भङ्ग गरेका छन्।

बुधवार उनले ५० मि फ्रिस्टाइलमा पाराओलिम्पिक्स कीर्तिमानसाथ जितेको पदकको भने चिनियाँ सामाजिक सञ्जालमा धेरै चर्चा भएको छ। सो पदक चीनले सन् १९८४ मा भाग दिन थालेदेखि पाराओलिम्पिक्समा जितेको ५०० औँ स्वर्ण पदक हो। सो स्पर्धा जितेपछि जेङले पत्रकारहरूलाई भनेः ‘यो मेरो टोक्यो ओलिम्पिक्समा अन्तिम स्पर्धा भएकोले मैले सबै शक्ति लगाएँ। मलाई लाग्छ यो मेरो उत्कृष्ट प्रदर्शन हो।’

सोमवार उनले ५० मिटर ब्याकस्ट्रोकमा ३१.४२ सेकेन्डको समय निकाल्दै विश्व कीर्तिमान कायम गरेका थिए। सो प्रदर्शन उनले दुई वर्षीया छोरीलाई भिडिओ सन्देश प्रेषित गरेपछि देखाएका थिए। छोरीसँग कुरा गरिरहेको उनको भावुक पलको भिडिओ सामाजिक सञ्जालमा चर्चित बनेको छ। ब्याकस्ट्रोक स्पर्धाका लागि उनी मुखले च्यापेको रुमालको सहायताले पौडी पोखरीमा अडिन्छन्।

इन्टरनेटमा उनलाई ‘साँचो प्रेरणा’ र ‘गर्वको स्रोत’ भनेर प्रशंसा गरिएको छ। समाचारहरूका अनुसार जेङले दैनिक कम्तीमा १० किलोमिटर पौडेर टोक्योको लागि तयारी गरेका थिए। उनले १३ वर्षको हुँदा पौडी खेल्न सुरु गरेको र त्यसको छ वर्षपछि नेदरल्यान्डमा भएको विश्व च्याम्पिअन्शिपमबाट प्रतिस्पर्धा गर्न सुरु गरेका थिए। सन् २०१२ को लन्डन पाराओलिम्पिक्समा १०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण पदक जितेका थिए। अहिलेसम्म उनले नौ पाराओलिम्पिक्स पदक जितिसकेका छन्।– बिबिसि नेपाली

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.