भदौ ८, काठमाडौँ । नेपाली काँगेसले क्रियाशील सदस्यताको विवादको अन्तिम टुङ्गो लगाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमबार बसेको शीर्ष नेताहरू सम्मिलित बैठकले सहमतिमै क्रियाशील सदस्यताको विवाद किनारा लगाएको हो ।
सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएपछि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवालाई समितिले प्रतिवेदन बुझाएको हो । गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय सीमा तोकिएकोमा ढिलो गरी समितिले सोमबार बुलुकी मात्रै प्रतिवेदन बुझाएको हो ।
यसअघिको छानविन समितिले अधिकांश जिल्लाको विवाद समाधान गरे पनि बारा, सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतमा भने समाधान गर्न सकेको थिएन । जसको लागि सिटौला नेतृत्वको नयाँ समिति गठन गरेर विवाद समाधानको जिम्मा दिइएको थियो । कांग्रेसको १४औँ महाधिवेसन कार्यतालिका अन्तर्गत यहि भदौ १८ गते वडा अधिवेसनको कार्यतालिका रहेको छ ।
वडा अधिवेशन निर्धारित समयमै
अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका व्यक्तिका लागि न्यूनतम मापदण्डका आधारमा क्रियाशील सदस्यता दिइने सहमति नेताहरूले गरेका छन् । क्रियाशील सदस्यताको विवाद मिलेसँगै अब पार्टीले यसअघि तय गरेको गाउँपालिका तथा नगरपालिकाको वडा अधिवेशन निर्धारित समयमै हुने भएको छ ।
महाधिवेशनको कार्यतालिका प्रभावित नहुने र नेताहरूबीच यसमा सहमति भएको जानकारी मुख्य सचिव पौडेलले दिनुभयो । अब सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची पार्टीको निर्वाचन समितिलाई बुझाएपछि समितिले महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ । एक दुई दिनमै अब यी काम पूरा हुने जानकारी नेताहरूले दिएका छन् । वडा अधिवेशन भदौ १८ गते गर्ने निधो काँग्रेसले गरेको छ । यसका साथै आगामी मङ्सिर ९ देखि १३ सम्म पार्टीको १४ औँ महाधिवेशन काठमाडौँमा गर्ने निर्णय काँग्रेसले यसअघि गरिसकेको छ।

