म्याग्दी: जडीबुटीको व्यावसायिक खेती विस्तार

भदौ ६, बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ। स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले गत वर्षदेखि सामूहिकरूपमा जडीबुटीको खेती सुरुआत गरेका थियो। समूहले यस वर्ष करिब दुई रोपनी जग्गामा अतिसको खेती विस्तार गरेको जनाएको छ।

समूहका अध्यक्ष गोर्खा छन्त्यालले बजारमा जडीबुटीका रूपमा अतिसको माग उच्च रहेकोले व्यावसायिक खेती गरिएको बताए। अतिसलाई पेटमा पर्ने जुका मार्न र शक्तिवर्द्धक औषधिका रूपमासमेत प्रयोग गर्ने गरिन्छ। यो स्थान समुन्द्री सतहदेखि दुई हजार ७०० मिटर उचाइमा रहेको छ। हिमाली कृषक समूहले स्थानीय टिउथिबा सामुदायिक वनको साढे दुई हेक्टर पाखो जग्गा भाडामा लिएर जडीबुटी खेती थालेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

उनका अनुसार खेर गएको जग्गालाई उपयोग गरी स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने र रोजगार सिर्जना गर्ने उद्देश्यले जडीबुटी खेतीलाई प्राथमिकता दिइएको छ। ‘यहाँ जडीबुटीको प्रशस्त सम्भावना छ, सम्भावनको उजागरमा हामीले जोड दिएका छौँ, जडीबुटी खेतीबाट निकट भविष्यमा प्रतिफल आउने हाम्रो अपेक्षा छ,’ उनले भने। यस समूहले हालै उच्च घनत्वमा हुने स्याउको खेतीसमेत सुरु गरेको छ। माटो परीक्षणलगायतको सम्भावना अध्ययन गरी यस वर्ष ७०० स्याउ, सात हजार बिसजरा र सतुवाका बिरुवा रोपण गरिएको छ। रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.