साहित्यकार रचना तामाङको ‘थोर्बा दोखाङ’ विमोचन

साउन ३०, काठमाडौँ । साहित्यकार तथा लेखक रचना मोक्तान तामाङ  ‘यात्री’ को तामाङ भाषामा लिखित कविता कृति थोर्बा ‘दोखाङ विमोचन’ भएको छ।

तामाङ डाजाङको २०५ औं साहित्यीक शृङ्खलामा भाषा आयोगका उपसचिव डा. लोकबहादुर लोप्चन, तामाङ लोक सम्राट चन्द्रबहादुर मोक्तान, लेखक ईन्द्रथिङ तामाङ ‘छिन्ताङ’ र तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जनले शनिबार तामाङ कुदापमा विमोचन गरे। कृतिमा ५१ वटा कविता समावेश छन्। प्रगतिशील धारका साहित्य लेखनमा सक्रिय उनको यो पहिलो कृति हो।

पत्रकार तथा समीक्षक मायालु ङेसुरका अनुसार कृतिमा संग्रहित कविताहरू जीवन संघर्ष, मार्क्सवादी दर्शनसँगै १० बर्से जनयुद्धपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रपछि योद्धाहरूलाई बेवास्ता गरिएको, महिलाका मुद्दाहरू, अन्तरजातीय प्रेम, गरिबीका कारण विदेशिने नेपालीले भोग्नु परेका भाषिक समस्या र तामाङ संस्कृतिको सजीव चित्रण रहेको बताइन्।

कविताहरूमार्फत् कवि यात्रीले उत्पीडित समुदायको दबिएको आवाजलाई गम्भीरतापूर्वक उठाएको पनि उल्लेख गरिन्। अर्का समीक्षक तथा चर्चित कवि मुक्तान थेबाले कृतिमा समाविष्ट कविताहरूमा तामाङ सौन्दर्यता आएको दाबी गरे।

उनका अनुसार शिल्प र कलाको दृष्टिले केही कविताहरू शक्तिशाली छन्। र, कविताहरूमार्फत् पहिचान प्राप्तिको सवाल, महिलाको मुद्दा, बर्गीय मुद्दा, इतिहासमा तत्कालीन शासकले तामाङ समुदायमाथि गरेको अन्याय अत्याचारको सशक्त उठान गर्न कवि यात्री सफल भएको बताए। यद्यपि, तामाङ राष्ट्रियताको सवाल अझ सशक्त ढंगले भने उठान नभएको समीक्षक मुक्तान बताउँछन्। टिप्पणीकार तथा युवा राजनीतिज्ञ छिन्ताङले रचनाका कविताहरू शक्तिशालीसँगै प्रगतिवादप्रति दृढ रहेको टिप्पणी गरेका छन्।

संग्रहित कविताहरू समाजको प्रतिछाया मात्रै नभइ आन्तरिक राष्ट्रियता कमजोर हुँदा भएको विद्रोहको चेतना भएका छन्। तर, कवितामा तामाङ भाषा संरक्षणको नाममा सन्देशको अस्पष्टता देखिएको बताए। त्यसले कविता अपठनीय हुने उनको मत छ। काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका १ कि यात्री पूर्वजनमुक्ती सेना हुन्। हाल शिक्षण पेसामा रहेकी उनी साहित्यका अनेक विधामा कलम चलाउँछिन्। सोही कारण उनी स्वाभाविक रूपमा परिवर्तनको पक्षमा भएको र कविताहरू विद्रोही चेतयुक्त रहेको तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तानले बताए।

तामाङ भाषा र शिक्षामा विद्यावारिधी गरेका भाषा आयोगका उपसचिव डा लोकबहादुर लोप्चनले यात्रीको तामाङ भाषामा लिखित कविता कृतिले तामाङ भाषालाई समृद्ध बनाउन टेवा पुग्ने बताए। तामाङ विद्यार्थीहरूको बाहुल्यता भएका विधालयहरूमा तामाङ मातृभाषामा पठनपाठन गर्न उक्त कृति सन्दर्भ सामग्री हुने र विश्वविद्यालय तहसम्मै तामाङ भाषा पठनपाठनका लागि आधारशीला हुने उनी बताउँछन्। उनले यात्रीको कवितामाथि समालोचना गर्ने पनि बताए।

यात्रीको कृति विमोचनपछि कवि सजना गोले तामाङ र अटुट दोङले कविता वाचन गर्दा राजु मोक्तान र अमर विरही थिङले गजल वाचन गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.