पशुपति क्षेत्रमा घट्न थाले भक्तजन

साउन २६, काठमाडौं। साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन्। तेस्रो सोमबारसम्म मन्दिर खुला हुने आशामा पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो।

पछिल्लो समय दैनिक रुपमा नयाँ भेरियन्टसहितको कोरोनाका सङ्क्रमित बढ्न थालेको र अस्पतालमा बिरामीको चाप बढ्न थालेसँगै पशुपति क्षेत्रमा पनि सोमबार भक्तजनको सङ्ख्या साउनका विगतका सोमबारका तुलनामा कम देखिएको हो। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा मन्दिर खोल्न नसकिने अवस्था भएपछि पशुपति क्षेत्रमा सामान्य अवस्थाकै जस्तो भक्तजन आएको बताउँछन्।

यस वर्ष साउनमा पाँच वटा सोमबार परेको थियो। साउन ३२ गते अन्तिम सोमबार परेको छ। साउने सोमबारको व्रत लिने महिला भने अन्य शिव मन्दिरमा जम्मा भएका थिए। राजधानीको टोलटोलमा रहेका शिव मन्दिरमा विशेषगरी महिलाको भीड लागेको थियो। साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य, पारिवारिक सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम भने साउन महिना र सोमबार छिटो खुसी हुने भगवान् शिवको महिना भएकाले महिला, पुरुष दुवैले व्रत लिने शास्त्रीय विधान रहेको बताउँछन्। साउनमा महिनामा भगवान् शिवलाई जलधारामात्र चढाएमा पनि प्रसन्न हुने शास्त्रीय वचन छ। यसैले यस महिनामा बोल बम यात्रा गरी भगवान् शिवका मन्दिरमा जल चढाउने परम्परा बसेको हो। कोरोनाका कारण यस वर्ष वाग्मतीको शिरोभाग सुन्दरीजलबाट पशुपतिसम्म हुने बोल बम यात्रा पनि हुन सकेको छैन।

केही भक्तजनमात्र सवारी साधन प्रयोग गरेर बोल बम यात्रा गरिरहेको भेटिन्छन्। कोरोनाअघि साउन महिना २० लाखसम्म भक्तजनले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउँथे। देशका अन्य शिव मन्दिरमा पनि आज भक्तजनले स्वास्थ्य सुरक्षाका विधि अपनाएर बाहिरबाट भएपनि दर्शन गरेका छन् । खुलेका मन्दिरमा भक्तजन भौतिक दूरी कायम गरी लाममा बसेका थिए।

नखुलेका मन्दिरमा भने बाहिरबाट पूजा, आराधना गरी हिँडेका देखिन्थे। यसैगरी राजधानीका गोकर्णेश्वर, डोलेश्वरलगायत मन्दिर प्रवेश गर्ने स्थलभन्दा वरदेखि नै प्रहरीले मन्दिर बन्द रहेकाले दर्शन गर्ने व्यवस्था नभएको भन्दै फर्कन आग्रह गरेको देखिन्थ्यो। रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.