साउन ८, काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परिवर्तनका आन्दोलनमा लागेका हरेक मानिसहरुले एमालेलाई मन पराउने बताएका छन् । शुक्रबार धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

विभिन्न पार्टीमा जिम्मेवार सम्हालेका नेता तथा कार्यकर्ताहरुलाई एमाले पार्टीमा प्रवेश गराउँदै महासचिव पोखरेलले स्वागत गरे । कार्यक्रममा बोल्दै पोखरेलले लोकतान्त्रिक विचारको पक्षमा रहेका मानिसहरुलाई एमालेको पक्षमा उभिन्छन् उनले भने । नव प्रवेशीहरुलाई बधाई तथा शुभकामना दिदै पार्टीका हरेक गतिविधिमा रहेर ईमान्दारितापूर्वक काम गर्न निर्देशन दिए ।
महासचिव पोखरेलले भने – ‘पार्टीभित्रको आन्तरिक झमेला झेलिरहेको अवस्थामा पार्टीभित्रै अन्तरसंघर्ष हुने सामान्य कुरा रहे पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत हो । ’ गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन सक्दैन, एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो उनले भने । पार्टीभित्रको खराव आचारण भएका तत्वहरुलाई परास्त गर्दै पार्टीलाई एक ढिक्का बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

त्यस्तै बागमति प्रदेश सभा सदस्य नारायण सिलवालले पार्टी र स्वतन्त्र रुपमा बस्नु बेग्लै रहेको बताउँदै अनुशासनलाई प्राथमिकता दिएर पार्टी काममा लाग्न आग्रह गरे । नेताहरुले गरेको गल्तीलाई कार्यकर्ता तहबाटै खबरदारी गरी सुद्धिकरण गर्नुपर्ने बताए । सिलवालले नव प्रवेशीहरुलाई स्वागत गर्दै स्वतन्त्र जीवनभन्दा पाटी जीवन महत्वपूर्ण रहेको उल्लेख गर्दै अनुशासनका साथ काम गर्नुपर्ने बताए । उनले जुन पेशामा आवद्ध भएको हो त्यसमा अव्वल बनाउँदै पार्टीको विचारलाई दृढताका साथ अगाडी बढाउन आग्रह गर्दै जनवर्गीय संगठनहरु युवा संघ, अनेमासंघ, अनेरास्ववियू लगायत सबै संगठनमा क्रियाशील रहन अनुरोध गरे ।

काठमाडौँ महानगरपालिका वडा ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका विभिन्न पार्टी करिव ३० जनाभन्दा बढि नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । काग्रेसबाट एमालेमा प्रवेश गरेका मनोज ढुंगानाले जनतामाझ काम गर्ने पार्टी तथा जनताको बहुदलीय जनवादको विचार आफूलाई मन परेको भन्दै एमालेमा प्रवेश गरेको बताए ।
कार्यक्रममा कामनपा वडा ४ का अध्यक्ष समेत रहेका मोहनबहादुर विष्टले एमाले प्रवेश गर्ने युवाहरु विकास निर्माण र समाज परिवर्तनमा लाग्न आग्रह गरे । वडा सदस्य ध्रुवा त्रिपाठीले पनि उनीहरुलाई स्वागत गरी पार्टी संगठनमा जिम्मेवारी दिने बताए ।

