रुवी भ्यालीमा वन फडानी, आयोजनाको नाममा करोडौँको चलखेल

साउन ३, काठमाडौँ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्यालीमा करोडौं रुपैयाँको वन फडानी भएको छ । सुपर आँखुखोला जलविद्युत आयोजनाले बाटो बनाउनका लागि वन फडानी गरेको हो ।

आयोजनाले प्रदेश सांसद जगत सिंखडा र गाउँपालिका अध्यक्ष चेरूङ तामाङलाई आर्थिक प्रलोभनमा पारी वन फडानी गरेको हो । निर्माणाधीन आयोजना २५ दशमल ४ मेगावाटको हो । आयोजनाले रुवी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ६ मा बाटो बनाउने नाममा करिव एक हजार रुख काटेको हो । विकास कार्यका लागि रुख काटन सकिने भए पनि त्यसको निश्चित प्रक्रिया रहेको छ ।

वन ऐन तथा निमयावलीले विकास आयोजनाका क्रममा वन फडानी गर्नु पर्ने भएमा त्यसबापत प्रति रुख बराबर २५ वटा विरुवा रोप्नुपर्ने व्यवस्था गरेको छ । साथै रुख रोप्न आवश्यक जग्गाको प्रबन्ध गर्नुपर्ने र पाँच वर्षसम्म ती रुख हुर्काउन तथा सम्भार गर्नुपर्ने कानुनी प्रावधान छ । यदि यसो नगरेमा जग्गा खरिद, वृक्षारोपण र तिनलाई पाँच वर्षसम्म हुर्काउन लाग्ने रकम आयोजनाले उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको छ । आयोजनामा वैदेशिक रोजगार व्यवासयी रघु पुरीलगायत संचालक छन् । लामो समयसम्म विश्वराज कँडेल यसको प्रबन्ध निर्देशक रहे पनि पछिल्लो दिनमा पुरी समूहले उनलाई विस्थापित गरेको छ ।

वन फँडानीमा संचालक पुरीले जिल्ला वन कार्यालय धादिङलाई समेत प्रभावमा पारेको आरोप लागेको छ ।
करोडौंको यो चलखेलबारे वन विभाग, वन मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालयमा उजुरी परिसकेको छ ।

प्रधानमन्त्री कार्यालय र वन विभागमा गरिएको उजुरी यसैसाथ सम्लग्न छ । 

श्री प्रधानमन्त्रीको कार्यालय
सिंहदरबार, काठमाडौं ।
विषय : अवैध वन फडानी गरी भ्रष्टाचार गर्नेलाई कारवाही गर्नेबारे ।

महोदय,
धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकास्थित सुपर आँखुखोला जलविद्युत आयोजनाले
अनधिकृत तबरले आयोजनाका लागि बाटो बनाउन वन फडानी गरेको छ । सोधभर्ना र क्षतिपूर्ति
बिनै करिव एक हजार रुख काटिएका छन् । यसमा स्थानीय सरकार, प्रदेश सांसद एवं
जिल्लास्थित जिल्ला वन कार्यालयको मिलेमतो रहेको छ ।
२५.४ मेगावाटको यो आयोजनाले रुवी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ५ मा बाटो
बनाउने नाममा ती रुख काटिएको हो । त्यसबापत अन्यत्र एक काटिएको रुख बराबर २५ वटा
विरुवा रोप्ने, पाँच वर्षसम्म त्यसको हेरदेख र सम्भार गर्ने वा सो कामवापत भरणपूरण रकम दिने
कुनै काम आयोजनाले गरेको छैन ।
त्यसैले निज आयोजनाका संचालक एवं स्थानीय सरकारका प्रमुख तथा प्रदेश सांसदविरुद्ध
तत्काल वन मुद्दा लगाएर कारवाही अघि बढाउन निवेदन गर्दछौँ ।

निवेदक
सरोकारवाला स्थानीयवासीहरू
रुवी भ्याली गाउँपालिका वडा नम्बर ४ र ५
धादिङ
२०७८/ ०३ /२३

यसअघि वन विभागका महानिर्देशकलाई दिएको निवेदनपत्र यसैसाथ सम्लग्न रहेको छ ।


श्रीमान् महानिर्देशकज्यू
वन तथा भू-संरक्षण विभाग
काठमाडौं ।
विषय : अनियमितता र भ्रष्टाचारबारे ।

महोदय,
प्रस्तुत विषयमा धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिकामा सुपर आँखुखोला जलविद्युत
आयोजना निर्माणाधीन छ । यो आयोजना गोरक्ष हाइड्रोपावर प्रा. लि.ले बनाइरहेको छ ।
२५.४ मेगावाटको यो आयोजना निर्माणका क्रममा सडक बनाउन रुवी भ्याली गाउँपालिकाको
वडा नम्बर ४ र ६ मा करिव एक हजार रुख काटिएका छन् । करोडौँ मूल्यपर्ने रुख काटिए पनि
त्यसबापत कानुनबमोजिम विरुवा रोप्ने वा क्षतिपूर्ति भरणपूरण गर्ने काम भएको छैन ।
आयोजनाले प्रदेश सांसद जगत सिंखडा, गाउँपालिका अध्यक्ष चेरुङ तामाङलगायत स्थानीय
सरकारका उपाध्यक्ष एवं वडाअध्यक्षहरूलाई समेत आर्थिक प्रलोभनमा पारेका छन् ।
यतिसम्मकी आयोजनाको काम अगाडि बढाउँदा वातावरणीय पक्षमा ध्यान दिनुपर्ने तालुकवाला
निकाय जिल्ला वन कार्यालय धादिङको समेत यो प्रकरणमा मिलेमतो रहेको देखिएको छ ।
वन ऐन तथा निमयावलीले विकास आयोजनाका क्रममा वन फडानी गर्नु पर्ने भएमा त्यसबापत
प्रति रुख बराबर २५ वटा रुख रोप्नुपर्ने व्यवस्था गरेको छ । साथै रुख रोपन आवश्यक जग्गाको
प्रबन्ध गर्नुपर्ने र पाँच वर्षसम्म ती रुख हुर्काउन तथा सम्भार गर्नुपर्ने कानुनी प्रावधान छ । यदि
यसो नगरेमा जग्गा खरिद, वृक्षारोपण र तिनलाई पाँच वर्षसम्म हुर्काउन लाग्ने रकम आयोजनाले
उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको छ ।
आयोजनाले जिल्ला वन कार्यालय धादिङको संरक्षणमा गाउँपालिका र प्रदेश सांसदसँगको
मिलेमतोमा राज्यलाई करोडौंको नोक्सानी पुर्‍याएको छ भने पर्यटकीय गन्तब्यमध्येको एक रुवी
भ्यालीलाई उजाड बनाएको छ ।
अतएव महानिर्देशकज्यूले यो प्रकरणमा अबिलम्म हस्तक्षेप गरी कानुन कार्यान्वयन तथा
दोषीलाई कारवाही गर्न गराउन निवेदन गर्दछौँ ।

निवेदक
पीडित स्थानीयवासीहरू
रुवी भ्याली गाउँपालिका वडा ४ र ५
धादिङ
२०७८/ ०३ /२३

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.