शिक्षामन्त्री र सरस्वती प्रधानविरुद्ध सर्वोच्चमा रिट

असार २०, काठमाडौं ।  कोठा भाडा प्रकरणमा चर्चामा आएकी सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानविरुद्ध दुबै जनालाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

काठमाडौं बबरमहलकी सरस्वती प्रधानले दलित भएका कारण डेरा भाडामा नदिएपछि उनले कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रधानलाई प्रहरीले हिरासतमा लिएको थियो।

दुई दिनपछि प्रधानलाई हाजिरी जमानीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्याएका थिए। जातीय भेदभाव तथा छुवाछुतजस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरी अभियुक्तलाई पदीय ओहोदा र सरकारी पद तथा स्रोतसमेत दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर जिम्मा लिएको सुनारको रिटमा उल्लेख छ।

उनले संवैधानिक अनधिकृत कार्य गर्ने शिक्षामन्त्री श्रेष्ठलाई तत्काल पदबाट हटाई जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव ऐन बमोजिम अनुसन्धान तथा कारवाहीको माग गरेकी छिन्।

त्यस्तै उनले सरकारी वकिलको कार्यालयलाई समेत विपक्षी बनाएकी छिन्। सुनारको रिटमा मुद्दाको प्रमाणहरु नष्ट गर्न सक्ने र उच्च पदस्थ व्यक्तिहरूमार्फत मुद्दाको अनुसन्धानमा बाधा गर्न सक्ने भएकाले घरबेटी सरस्वती प्रधानलाई समेत तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गरेकी छिन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.