असार १६, काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ । बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने बताइएको छ ।
आयोजक कमिटी माधव नेपाल–झलनाथ खनाल पक्षले माग गर्दै आएको २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रुपान्तरण हुन लागेको हो । अब एमाले पुरानै संरचनाअनुसार सञ्चालन हुने छ । मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार (आज) महाधिवेशन आयोजक कमिटी बैठक बस्ने र उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने जानकारी दिएका थिए ।
बैठकले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने पनि तयारी गरेको ज्ञवालीले जानकारी दिए । उनकाअनुसार धेरै विषय १८ गतेको केन्द्रीय कमिटीबाट टुङ्ग्याइने छ ।

