असार ४, काठमाडौँ । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा–३, छाप फेटारका अग्नी पीडित सन्देश तामाङको परिवार बस्नका लागि अस्थायी टहरा निर्माण गरिएको छ ।
गत बैशाख १७ गते बिजुलीको करेन्ट सर्ट भई जयाजेथा सबै जलेर नष्ट भएपछि पीडित तामाङ परिवारलाई आवश्यक बासास्थानका निर्माणको लागि सहयोग राहत संकलन गरिएको थियो । नीज पीडितको हाल बसोबास गर्दै आएको स्थानमा कुनै जमिन नभएकोले सोही गाउँका हाल कतारमा बैदेशिक रोजगारमा कार्यरत तिर्थ थिङले १ रोपनी जग्गा दिने सम्झौता गरेका छन् । सोही सम्झौतानुसार आवास निर्माणमा समेत जुटेका थिङले देशविदेशमा रहेका नेपालीहरुमाझ आर्थिक सहयोग संकलन गरी अस्थायी बसोबासका लागि जस्ताको टहरा निर्माण सम्पन्न गरेको छ ।
पाँच परिवार रहेका सन्देशको आर्थिक अभाव तथा कुनै जमिन नभएका कारण विभिन्न संघसंस्थाले समेत आर्थिक सहयोग गर्दै आएका छन् । थिङकै पहलमा कतारबाट रु. ५५ हजार, सोही वडाका श्री सरस्वती प्रा.वि. भदौरेका प्रधानाध्यापक रामहरी रायको पहलमा रु. ३९ हजार ५ सय ४३ बराबरको ४ बण्डल जस्तापाता, गाउँपालिकाको तर्फबाट रु. १० हजार, जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट रु. २० हजार, स्थानीय युवाहरुबाट रु. १२ हजार ५ सय र जापान, साउदी, दुबई र कतारमा र ओमनमा रहेका नेपालीहरुबाट रु ४९ हजार ६३० आर्थिक संकलन गरी टहरा निर्माण कार्य सम्पन्न भएको छ ।
उक्त टहरा निर्माण कार्यमा आर्थिक, भौतिक, सामाजिक तथा नैतिक रुपमा सहयोग गर्नुहुने सबैलाई अभियानको तर्फबाट तिर्थ थिङले धन्यवाद दिएका छन् । साथै स्थायी बसोबासका लागि आफूले जग्गा उपलब्ध गराए पनि भौतिक संरचना निर्माणका लागि थप आर्थिक सहयता चाहिने भएकाले नीज पीडितलाई सहयोग गर्न अपिल गरेका छन् । अग्नी पीडित सन्देश तामाङको मोबाईल नं. ९८१०००६२७९ र ९८०८५१७०२७ मा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।

