सुर्तीजन्य पदार्थ सेवन गर्नेमा काेराेना सङ्क्रमणको जोखिम बढी

जेठ १७, काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो।

सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पुर्याएको छ। अहिले सङ्क्रमितलाई धेरै जसो फोक्सोमा समस्या आई अक्सिजन दिनु परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र एक्शन नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को सङ्क्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाउ’ विषयक अन्तर्क्रिया कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश पाण्डवले सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने र सङ्क्रमणले झनै असर गर्ने गरेको छ।

उनले अहिले सङ्क्रमणले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई बढी गम्भीर बनाउने भएकाले सेवन छाड्नुपर्ने बताए। उनका अनुसार धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटमा नै मुटुको धड्कनमा सुधार आउने बताए।

यस्तै धुम्रपान छाडेको १२ घण्टाभित्र रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा आउने र दुई हप्तादेखि १२ हप्तामा फोक्सोमा सुधार आउने, एकदेखि नौ महिनासम्म खोक्ने र छिटोछिटो सास फेर्नमा सुधार आउँछ। यसैगरी १० वर्षभित्रमा फोक्सोको क्यान्सर तथा १५ वर्षभित्रमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावनासमेत घट्छ।

नेपाल कार्डियो सेन्टरका वरिष्ठ कार्डियोलोजिष्ट डा ओममुक्ति अनिलले अहिले कोभिड–१९ का कारणले सुर्तीजन्य पदार्थ सेवन घटेको बताए। उनले अहिले घटिरहेको सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्ने बताए। उनले दिनमा एक, दुईवटा चुरोट खाँदा पनि हृदयाघात, फोक्सोमा क्यान्सर जस्ता समस्या देखिएको जानकारी दिए। युवा अवस्थामा नै सुर्तीजन्य पदार्थको सेवन छाड्न सके स्वास्थ्यलाई फाइदा हुने उनको भनाइ छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाका अनुसार नेपालमा वर्षेनि २७ हजार १३७ व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ। त्यो नेपालमा मृत्युको करीब १५ प्रतिशत हो। सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गरेको छ।

विश्वमा करीब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने र १२ लाख व्यक्तिको सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गरेको छ। केन्द्रका निर्देशक डा थपलियाका अनुसार नेपालको तथ्याङ्कले हाल सुर्तीजन्य पदार्थ सेवन गर्ने २८।९ प्रतिशत रहेका देखाएको बताइन् । तीमध्ये ४८।३ पुरुष र ११।६ प्रतिशत महिला छन् । यसैगरी पहिलोपटक धुम्रपान सुरु गर्दाको औषत उमेर १७।८ रहेको छ।

दिनहुँ चुरोट खाने व्यक्तिले प्रत्येक दिन करीब ६।५ वटा चुरोट खाने गरेका छन्। नेपालमा वर्षेनि सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा करीब रु ४७ अर्ब क्षति हुने गरेको छ।

सुर्तीजन्य पदार्थको करमा वृद्धि

सरकारले सुर्तीजन्य पदार्थको करमा वृद्धि गरेको छ। आव २०७८,७९ मा अहिले भएको करमा २५ प्रतिशत वृद्धि गरेको छ। अहिले सुर्तीजन्य पदार्थमा ३० प्रतिशत कर रहेको थियो। विश्व स्वास्थ्य सङ्गठनले कम्तीमा ७५ प्रतिशत कर हुनुपर्ने उल्लेख गरेको छ।

कानून कार्यान्वयनमा जोड

पूर्वसांसद खगराज अधिकारी, रामकुमारी झाँक्री, कोमल वलीलगायतले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनाइएको कानून कार्यान्वयन नहुँदा सेवन गर्ने सङ्ख्या बढ्दो रहेको बताए। “मानिस नखाएर बाँच्न नसक्ने अवस्था छ, त्यो अवस्थाबाट मानिसलाई निकाल्नु पर्दछ”,सांसद वलीले भनिन्, “धुम्रपानको विकल्प हामीले दिन सक्यो भने छुटाउन सक्दछौँ।”

आज नेपालसहित विश्वभरि ‘सुर्तीजन्य कुलत छाड्ने प्रतिज्ञा गर्नुहोस्ः कुलत त्याग्नेहरु नै वास्तविक विजेता हुन्’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदैछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.