जेठ १४, दाङ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मुख्य व्यक्ति सत्ताधारी दलको नेता भएको पुष्टि भएको छ ।
कोरोना सङ्क्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावतलगायतका व्यक्तिले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आक्रमण गरेका थिए ।रावत नेकपा एमाले दाङ जिल्ला कमिटी सचिवालय सदस्य हुन् । पछिल्लो पटक नेकपा ओली समूहको लुम्बिनी प्रदेश कमिटी बनाउँदा उनलाई सदस्य बनाइएको थियो । तर, एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले भने रावत आफ्नो कमिटीमा नभएको दाबी गरेका छन् । अध्यक्ष गिरीले रावत जुनसुकै पार्टीमा आबद्ध भए पनि कारबाहीको भागिदार हुनु पर्ने बताए ।
घटनाका दोषीलाई कडा कारबाहीको माग गरिएको उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री पोखरेलले पनि बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुने सामाजिक सञ्जालमा लेखेका छन् । रावतसहितको आक्रमणबाट ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका थिए ।
जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहीबार राति ८ बजेतिर मृत्यु भएको थियो । उनको मृत्युपछि उनका आफन्तहरूले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमासमेत तोडफोड गरेका थिए । घटनालगत्तै प्रहरीले मानबहादुर रावत र मृतकका दुई छोरालाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्ट नेतृत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले समितिले आजैदेखि काम थाल्ने उल्लेख गरे ।
रावत सत्ताधारी दलसँग आबद्ध रहेको पुष्टि भएपछि कारबाहीबाट उन्मुक्ति पाउन सक्ने आशङ्कामा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शुक्रवार बिहानैदेखि अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन् । लाठीसहित मृतकका आफन्त आक्रमण गर्न आएपछि डाक्टर र नर्सले एक तलामाथिको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । शुक्रबार प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीले ‘के स्वास्थ्यकर्मीले सधैँ कुटाई नै खाने हो ?’, ‘नो सेक्युरिटी, नो वर्क’ जस्ता नारा लगाउँदै सङ्क्रमितको उपचारमा खटिएका महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोबल खसाउने खालका क्रियाकलाप बन्द गर्न माग गरेका छन् ।
घटनाबारे छानबिन गरी दोषीलाई कडा कारबाही गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि माग गरेका छन् । नेपालगञ्ज उप महानगरपालिकाका प्रमुख डा। धवल शमशेर राणाले पनि महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार अक्षम्य भएको बताएको बताएका छन् ।

