काठमाडौंका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण

जेठ १३, काठमाडौं । काठमाडौंका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर–४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा संक्रमण पुष्टि भएको हो ।

उक्त स्थानका कृषकले पालेका टर्कीको नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा संक्रमण फैलिन नदिन तथा तत्काल नियन्त्रणमा लिन विभागले संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोेग सार्न सक्ने अन्य वस्तुसमेत बुधबार नै नष्ट गरेको छ ।

उक्त क्षेत्रबाट ५३५ टर्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अन्डा र ९०० किलो दाना नष्ट गरिएको थियो । पशुपक्षी मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ ।

यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, पक्षीपालक कृषकहरुले फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा सफाइमा ध्यान दिन, घरपालुवा पक्षीलाई जंगली पक्षीहरुको सम्पर्कमा आउन नदिन, हाँस तथा कुखुरालगायत पक्षीलाई थुनेर पाल्न तथा पशुपक्षी बिक्रीस्थलमा अस्वाभाविक रूपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरिएको छ । यसअघि, काठमाडौंको तारकेश्वर र ललितपुरको नक्खुलगायत क्षेत्रमा पालिकाएका स्थानीय कुखुरा र टर्कीमा बर्डफ्लु भेटिएको थियो । रासस

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.