पूर्वी नेपालका चार जिल्लामा वर्षा, सजग रहन आग्रह

पश्चिम सर्नेक्रम जारी

जेठ ११, काठमाडौँ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली चक्रवातमा परिणत भैसकेको छ । यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत हुने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि (बुधबार)सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको छ । यसको असर नेपालमा देखिन सुरु गरिसकेको छ । पूर्वी नेपालको मोरङ, सुनसरी, झापा र इलाममा अहिले हल्का वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार यो विस्तारै केही पश्चिमतर्फ सर्नेक्रम जारी छ । “पश्चिमतर्फ सरिरहेको छ । तर, अहिलेसम्म यसको गति सुस्त छ । यो चक्रवात प्रतिघण्टा १०–१२  किलोमिटरको गतिमा पश्चिमतर्फ सरिरहेको छ,” मौसमविद् श्रेष्ठ भन्छन्, “यो गतिका कारण काठमाडौं र यहाँबाट पश्चिम पुग्न भने केही समय लाग्छ । तर, यसको प्रभाव बिहीबार/शुक्रबारसम्म रहन्छ ।”

यसैबीच, आज अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदलीको भई वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्मका लागि  पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन विभागले आग्रह गरेको छ ।

देशका धेरै स्थानमा बुधबारबाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । बिहीबार (१३ गते) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली भू–भागहरू हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहीहरूलाई सतर्क रहन विभागले भनेको छ ।  मेघगर्जन/चट्याङ/हावाहुरी र असिना–पानीकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.