विज्ञहरू भन्छन्, ‘प्राकृतिक जीवनशैली अपनाए कोभिड-१९ बाट बच्न सकिन्छ’

कोरोना भाइरसजस्ता सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिएका छन्।  ‘महामारीमा तनाव व्यवस्थापन, योग, ध्यान  र आयुर्वेदबाट समाधान’ विषयक प्रवचन कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय योग र प्राकृतिक चिकित्सा विषय समितिका अध्यक्ष डा हरिप्रसाद पोखरेलले अप्राकृतिक जीवनशैलीकै कारण विश्वभर कोभिड–१९ जस्ता रोग बढेको बताए।

कोभिडको दोस्रो लहरपछि अरु पनि यस्तै रोग आउने भएकाले प्राकृतिक जीवनशैलीमै फर्किएर यसबाट समाधान निकाल्न सकिने उनको भनाइ थियो। नेपालीको भान्सा संस्कृति पहिलेदेखि वैज्ञानिक रहेकामा आधुनिकताका नाममा पछिल्लो समय केही संस्कार बिर्सन थालेकाले पनि मानिसमा रोग बढ्न थालेको छ। बेसार, अदुवा, आलस, सिलाम, तिल, जस्ता ९० देखि १०० औषधिजन्य बीज सूक्ष्म पोषक तत्वयुक्त चीजबीजलाई फेरि भान्सामा फर्काउनुपर्नेमा पोखरेलले जोड दिए। सुत्केरीलाई खुवाउने बत्तीसा मसला भने अहिले पनि उपयोग भइरहेको छ।

“वैदिक कृषि प्रणालीलाई पनि ५० वर्ष अघिदेखि हटाएर उत्पादन बढाउने नाममा रासायनिक मल भित्र्यायौँ, एक लिटर दूध दिने गाईलाई तीन लिटर दूध दिने बनायौँ, यसैबाट रासायनिक विषादी आएर मानिसलाई रोगी बनाउन थाल्यो, यसैले अब जैविकसमेत भनिने वैदिक कृषि प्रणालीमा फर्कन जरुरी छ”, उनले भने।

जीराका गेडा पिनेर महिनौँ त्यही धुलो प्रयोग गर्ने, पहिले स्वस्थकर मिठाईका रुपमा सेल रोटी प्रयोग हुने गरेको थियो। तरकारी पकाउँदा मेथी, खुर्सानी, लसुनजस्ता चीज डढाउनाले समेत रोग निम्त्याउने गरेको छ। सेल रोटी थोरै गुलियो र तेलमा बन्न सक्थ्यो त्यसलाई छाडेर धेरै गुलियो र चिल्लो प्रयोग हुने मिठाईका पछि लाग्दा समेत रोग बढ्न थालेकाले सचेत हुन उनले आह्वान गरे । पहिले नेपाली मिठाईका रुपमा प्रयोग हुने खीरको प्रचलनसमेत घट्न थालेको छ।

तयारी भोजन मृत्युको पनि तयारी 

चाउचाउ, चिजबल, बिस्कुटजस्ता ‘फास्ट फुड फास्ट डेथ’ का कारण बनेको पोखरेलले ठोकुवा गरे। चिनी दिनमा पाँच ग्रामभन्दा बढी खाए बारुदको रुप लिने वैज्ञानिकले नै भन्न थालेकाले यसतर्फ सचेत हुनुपर्ने भएको छ। एक मिनेट उमालेको चाउचाउले मानिसको आयुको एक महिना लुट्न सक्ने भएकाले सचेत हुन उनको सुझाव थियो । चाउचाउको विकल्पमा परम्परागत नुडल्स प्रयोग गर्न सकिने उनको भनाइ थियो। यस्ता नुडल्स चोकटबाट बन्ने हुनाले स्वास्थ्य राम्रो हुन्छ।

स्मार्ट मोबाइलबाट टिकटक बनाएर पोष्ट गर्नेले स्वास्थ्य ठीकठाक राख्नका लागि उपयोग नगर्ने भएकाले पनि जीवनमा समस्या आउने गरेको छ। टेबुलमा बसेर काम गर्नेका लागि दैनिक तीन ग्राम नुन भए पुग्छ। श्रम गर्नेका लागि दैनिक पाँच ग्रामसम्म नुन चाहिने भए पनि बढी प्रयोग गरेर स्वास्थ्यमा खराबी आएकामा उपयोगकर्ता नै सजग हुन सकेका छैनन्।

एक पाउ आटामा जति पोषक तत्व पाइन्छ, डेढ किलो मैदामा पनि त्यो तत्व नपाइनेमा पनि सजग हुनुपर्नेछ। “खैरो चामलमा मुटुलाई रक्षा गर्ने तत्व छ, भिटामिन बी १२ पाइन्छ, खैरो खुर्केर पशुको दानामा मिसाएर हामी सेतो चामल प्रयोग गरिरहेका छौँ, यसो गर्नु गलत हो”, उनको भनाइ थियो।

हाल मानिसको मन चलेको छ, शरीर चल्दैन भन्दै पोखरेलले मन नचलेर शरीर चले स्वस्थ भइने सूत्र सुनाए। पहिले नहिँडी काम चल्दैन थियो, बिहानी हिँडाइ थिएन। नब्बे वर्ष पुग्दा स्वस्थ जीवन हुन्थ्यो गाउँमा, कुटो र कोदाली, उकाली र ओराली नै लामो जीवनयापन गर्ने मुख्य सूत्र भएको उनले सुनाए। अहिलेका मानिस २० मिनेटको बाटोका लागि ४० मिनेट ट्याम्पो कुरेर बस्छन्।

शरीरको व्यायामका लागि योगासान, श्वासप्रश्वासका लागि प्राणायाम र मनको व्यायामका लागि ध्यान गरे स्वस्थ एवं दीर्घ जीवनयापन गर्न सकिने भएकाले नियमिततामा ध्यान दिनुपर्ने पोखरेलको भनाइ थियो । योगासन, प्राणायाम र ध्यानको संस्कार नेपालीले बिर्सेको सयाैं वर्ष भइसकेको छ ।

रोग प्रतिरोधक क्षमता बढाउन अङ्कुरित गरिएका खाद्यपदार्थ खाने, दही, मोही, खाने भए बिहान खाने बेलुकी नखाने, पानी परेका दिन दही, मोही नखाने, बिहान, बेलुका मन तातो पानीले नुहाउने, बाहिर गई आएपछि कपडा बदल्ने जस्ता जीवनशैली अपनाउनुपर्ने प्राकृतिक चिकित्सक पोखरेलको सुझाव छ। कोरोना तीव्र गतिमा बढाउन चुरोट र रक्सी बढी माध्यम बनेकाले सङ्कल्प गरेर छाड्न पनि उनले सुझाव दिए।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.