बैशाख ६, काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलको सरकारविरुद्ध सोमबार दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ३ जना र हस्ताक्षर नगरेकी एकजनासहित जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु सोमबार दिउँसो मन्त्री बने र शपथ पनि लिए।
तर, सोमबार साँझ नै सो पार्टीले पार्टीको निर्णय नभई मन्त्री बनेको भन्दै २४ घण्टा भित्र राजीनामा दिन अल्टिमेटम दिएको छ। जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले मन्त्री बनेका चारैजनालाई २४ घण्टाभित्र राजीनामा दिन भनेका छन्। उनले मन्त्रीबाट राजीनामा नदिइ सांसदसमेत खारेज गर्ने गरी कारबाही हुने चेतावनीसमेत दिएका छन्। उनले तत्कालका लागि उनीहरुलाई पार्टीका जिम्मेवारीबाट निलम्बर गरिएकोसमेत बताएका छन्।
उता जसपा अध्यक्ष उपेन्द्र यादवले पनि पार्टी निर्णय विपरित उनीहरु मन्त्री बनेको भन्दै कारबाही गरिने बताएका थिए। अविश्वास प्रस्तवमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी मन्त्री बनेका छन्। जसपाकी कल्पना पाण्डे पनि मन्त्री बनेकी छन्। उनले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन्।


