चैत २८, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका स्थित वडा १३ चुनिखेलमा रहेको टुपेक कृषि सहकारी संस्थाले अवैध रुपमा पैसा असुल्दै सम्पर्कविहिन भएको बचतकर्ताहरुले बताएका छन् ।
दुई वर्ष अगाडीदेखि बचत गरेको पैसा फिर्ता नगरेको भन्दै करिव तीन सय जना पीडितहरु मिडियामा आएका छन् । सहकारी संस्थाका सञ्चालक सरोजराज श्रेष्ठले बचतकर्ताहरुको पैसा फिता नगरेको भन्दै गत दुई महिनादेखि आन्दोलित छन् । कार्यालय खुल्ला रहेपनि सञ्चालकहरु नआएको र बचतकर्ताहरुले सम्पर्क गर्दा उल्टै धम्की दिने र पैसा नदिने भन्दै भेट्न नचहाएको उनीहरु बताउँछन् । करिब दुई करोड रकम हिनामिना गरी लुकेर बसेको भन्दै सम्बन्धित वडा तथा नगरपालिकामा उजुरी दिना जाँदा आफुहरु नै मिल्नु भन्दै उल्टै गाली गरेर पठाएको एक पीडितले सुनाईन् । उक्त सहकारीबाट स्थानीयहरु नै ठगिए पनि स्थानीय सरकारले वास्ता नगरेको उनीहरुको गुनासो छ ।

चिया बेच्ने, सिलाई गर्ने तथा साना– साना व्यवसाय गरेर बसेकाहरुको बचत गरेको पैसा फिर्ता नभएपछि प्रहरीसम्म समेत पुगेको उनीहरुको भनाई छ । तर कतैबाट आफ्नो सुनुवाई नभएपछि सहकारीका अध्यक्ष सरोजराज श्रेष्ठको खोजिमा उनीहरु छन् । फोन लागे काट्ने र फोन उठाए उल्टै गाली गलोज तथा धम्की दिएको भन्दै संघर्ष समिति नै तयार गरी आफुहरुले जम्मा गरेको पैसा फिर्ता गर्न आवश्यक कारवाही आगाडी बढाउने बताएका छन् ।

सहकारी ऐन विपरीत कृषि सहकारी दर्ता गरी बचतकर्ताबाट पैसा उठाउँदै आएको टुपेक कृषि सहकारीका अन्य सञ्चालकहरुले सबै आर्थिक कारोबार अध्यक्षले नै गरेको भन्दै आफूहरु त्यसमा दोषी नभएको पीडितहरु बताउँछन् । अध्यक्षसंग बुढानिलकाण्ठ शाखा सिद्धार्थ बैंक समेत मिलोमतो रहेको आरोप छ । श्रेष्ठले पैसा नभएको चेक पटक–पटक सेवाग्राहीले लगिएपनि कुनै प्रतिक्रिया नदिएको र चेक बाउन्स नगरेको भन्दै आक्रोशित छन् । केही सेवाग्राहीलाई खाली चेक दिदै दुःख दिएको र अन्य बचतकर्ताहरुको पैसा फिता नगरेको भन्दै अब आफ्नो पैसा नआएसम्म थप आवश्यक कदम चाल्ने उनीहरुले बताएका छन् ।

