लकडाउनको आज एक वर्ष पूराः कोरोना संक्रमणको जोखिम उस्तै

चैत ११, काठमाडौँ । गत वर्ष हवाई मार्ग र स्थलमार्ग भएर नेपाल आउनेलाई गरिएको ‘फरक मापदण्ड’ले लकडाउनको अवस्थामा पुर्‍याएको विज्ञको भनाइ छ। तेस्रो र दोस्रो लहरको मार खेपिरहेका मुलुकबाट स्वदेश छिर्नेलाई गत वर्षको गल्ती नदोहोर्‍याई समान मापदण्ड कायम गर्नुपर्ने उनीहरूको सुझाव छ।

‘गत वर्ष विकसित मुलुकबाट स्वदेश फर्कनेको पीसीआर रिपोर्ट अनिवार्य गरियो। भारतबाट घर फर्कनेलाई पीसीआर रिपोर्ट बिना हुरुरु छिर्न दिइयो। घर पठाइयो’, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘यही दोहोरो मापदण्डले कोरोना संक्रमण बढ्यो। लकडाउन घोषणाको अवस्था आयो।’

कोरोना संक्रमणको एक वर्ष पूरा भइसक्दा पनि जोखिम उस्तै छ। भारतमा दैनिक ४० हजारभन्दा बढी संक्रमित हुन पुगेका छन्। सवा लाखमा झरेको सक्रिय संक्रमितको संख्या झन्डै चार लाख पुगेको छ। नेपाल–भारत नाकाबाट निर्बाध आवतजावत भइरहेको छ। कोरोना संक्रमणलाई देखाएर लकडाउन घोषणा गर्न नहुने डा. मरासिनी बताउँछन्। विगतको गल्ती सच्याएर अघि बढ्नु पर्ने उनको सुझाव छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम गत वर्षझैं मुलुकभर पुनः लकडाउन घोषणाको सम्भावना नरहेको बताउँछन्। ‘एन्टिजेन परीक्षण र घरमा बस्न नसक्नेलाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ’, प्रवक्ता डा। गौतम भन्छन्, ‘तत्कालै लकडाउनको योजना छैन। जनस्वास्थ्यका मापदण्ड पालनालाई जोड दिनुपर्छ। संक्रमण बढेकाले भौतिक दूरी कायम गर्नु पर्छ। मास्क लगाउनु पर्छ। साबुनपानीले राम्रोसँग हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नु पर्छ।’ नेपालमा पनि संक्रमण बढ्न सक्ने हुँदा देशभर भीडभाड हुने कार्य नगर्न÷नगराउन अनुरोध गरिएको डा.  गौतम बताउँछन्।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ जना पुगेको छ। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार १२८ जना रहेको छ। मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ४५ हजार ३० जनाको पीसीआर परीक्षण गरिएको छ। मंगलबार मात्र थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्णबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.