फागुन १, काठमाडौँ । पर्सा– काठमाडौँ सम्पर्क तामाङ युवा समाज झबराहाद्वारा आयोजित सोनाम ल्होछार विशेष कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ । शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा बोल्ने वक्तहरुले आदीवासी जनजातीहरुको पहिचान झल्किने भाषा, भेषभूषा तथा संस्कृतिको संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका जनता समाजवादी पार्टीका युवा नेता रन्तविक्रम स्याङबोले ल्होछारले तामाङ समुदायको मात्र नभएर सिंगो नेपालीहरुकै पर्वको रुपमा रहेको बताउँदै राज्यवाद उचित अन्य समुदायको पर्व जस्तै उचित सम्मानका साथ प्राथामिकतामा राख्नुपर्ने धारणा राखेका छन् । तर राज्य सञ्चालकहरुले तामाङ, गुरुङ, शेर्पा लगायत अन्य जनजातीहरुको पहिचान मेटाउने प्रयास गरेको भन्दै खबरदारी समेत गरे । राज्य सबैको साझा भएकाले सबै समुदायको संस्कार, संस्कृति तथा रितिरिवाजलाई स्वीकार्नुपर्छ भनेर पहिचानको माग राख्दा राज्य सञ्चालकहरुले जातीवादको ट्याग लगाएर पहिचानलाई ओझेलमा पार्ने हुर्मत गरिरहेको बताए । युवा नेता स्याङबोले पहिचानको कुरामा जातीवादी नभई राष्ट्रवादी भएको व्याख्या गर्दै विभिन्न बहानामा आदीवासी जनजातीहरुको अधिकार र पहिचानमाथी राज्यको शोषण बन्द गर्न आग्रह गरे ।

कार्यक्रमका विशेष अथिति तौबहादुर गुरुङले तामाङ, गुरुङ र शेर्पाले मनाउँदै आएको ल्होछार एउटै पर्वको रुपमा मनाउनुपर्ने तर्क राखेका थिए । तीनओटै ल्होछार तमु, सोनाम र ग्याल्पोलाई नयाँ वर्ष तथा ल्हो फेर्ने वर्षको रुपमा मनाउँदै आएकोले ल्होछारलाई संयुक्त रुपमा मनाउँदा झन महत्व बढ्दै जाने बताए । आदीवासी जनजातीहरुको पर्वहरुलाई सरकारले विदा कटौती गर्दै गएकोप्रति आपत्ति जनाउँदै पहिचान मेटाउन राज्य सञ्चालकहरु अग्रसर रहेको आरोप लगाए । जनजातीहरु राजनीतिक रुपमै सचेत नभएकै कारण शोषकहरुले संविधानमै उल्लेख गरिसकेका अधिकारमाथी हस्ताक्षेप गर्न लागेकोमा सबै जना सजग हुन आग्रह गरे ।

त्यस्तै साङछोई खोर्लुङ गुम्बाका लामा गुरु हृदम लामाले पुजापाठ गरी ल्होछारका विशेषताबारे आफ्नो धारणा राखे । सामाजिक तथा अन्य कुनै कार्यक्रम राख्दा बुद्धले दिएको उपदेश तथा धार्मिक विचार राख्दा तामाङ समुदायको संस्कति र रितरिवाजबारे थप ज्ञान प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका संयोजक तथा सभपाती विनोद लामाले तामाङ समुदाय एकिकृत हुन नसक्दा राज्यबाटै दमन र शोषण भईरहेको बताए । ल्होछार जस्ता राष्ट्रिय पर्वले सबैलाई सदभाव तथा एकताको शन्देश दिन खोजे पनि राजनीतिक रुपमा विभाजित भएर आफ्नो समुदायको अधिकार र पहिचानलाई नै विर्सिएकोमा दुःख व्यक्त गरे । उनले तामाङ समुदाय जाग्ने बेला भएको बताउँदै विचार र आस्थाका हिसावले जुनसुकै पार्टीमा रहेता पनि आफ्नो समुदायको पहिचान र मौलिक अधिकारका विषयमा एकजुट हुनुपर्ने बताए ।

मञ्जुश्री सम्बत् २८५७ औं लाङ ल्हो अर्थात सोनाम ल्होछारको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा पर्सा जिल्लाबाट काठमाडौँमा आएर विभिन्न पेसा व्यवसाय तथा अध्ययन गर्दै आएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

