सोनाम ल्होछारको शुभकामनाः विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान– राष्ट्रपति भण्डारी

माघ ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छिन् । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारिन् ।

सन्देशमा राष्ट्रपतिले भनेकी छिन्, “यस्ता पर्वले हाम्रा मौलिक संस्कृति प्रवर्धन गर्न, सामुदायिक ऐक्यबद्धता एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।” चन्द्र पात्रो अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ ।

यस पर्व तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेश लगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले आ–आफ्नै शैली र परम्परा अनुसार मनाउँदै आएको पाइन्छ ।राष्ट्रपतिले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.