माघ २९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृ रामकुमारी झाँक्रीलाई जबर्जस्ती पक्राउ गरिएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले झाँक्रीलाई पक्राउ गरी लिएर गएको बताए । ‘‘पुलिसले हिजोदेखि पक्रिन बल गरेको थियो । राष्ट्रपतिको बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्ने भन्ने थियो । हामीले हिजो बेलुकादेखि अहिले बिहानसम्म रोक्न बल गर्यौँ । उनीहरुले जबर्जस्ती पक्राउ गरेर लिएर गएका छन्,’’ उनले भने ।
अध्यक्ष प्रचण्डले झाँक्रीको पक्राउलाई लोकतन्त्रमाथि हमलाको संज्ञाको रुपमा अर्थ्याए । लोकतन्त्रको पक्षमा विचार राख्नेहरुमाथि राज्यले अंकुश लगाउन खोजेको उनको भनाइ थियो । ‘‘हमला कहाँ गर्यो त भन्दा उत्पीडित वर्ग, जातिका प्रतिनिधिमाथि हमला गर्न खोजेका छन् । उहाँ त छिट्टै छुटि नै हाल्नुहोला । तर पनि उनीहरुको नियत त देखियो नि कहाँ प्रहार गर्न खोज्या छन् । जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचारहरु राख्ने काम गर्यो । त्यो विचारमाथि, लोकतन्त्रमाथि ताला लगाउने, चाबी लगाउने षड्यन्त्र भएको छ,’’ उनले भने ।

